प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ दशैँअघि नै तमाम गरिने

मंगलबार, असोज २०, २०८३

संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ दशैँअघि नै सम्पन्न गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले असोज २६, २७ र २८ गतेको समयतालिका तय गर्दै सुनुवाइ प्रक्रिया अगाडि बढाउने निष्कर्ष निकालेको हो।

संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतहरूको नियुक्तिको समयतालिकाबारे सांसदहरूबीच लामो छलफल भएको थियो। केही सदस्यहरूले चाडपर्वको समय र जिल्ला भ्रमणको कार्यतालिकालाई ध्यानमा राख्दै सुनुवाइ दशैँपछि गर्नुपर्ने धारणा राखेका थिए।

यद्यपि कुटनीतिक नियोगहरूमा राजदूतको अभावले पारेको असर र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै सुनुवाइ छिटो टुंग्याउनुपर्नेमा समिति सहमत भएको हो। छलफलका क्रममा सांसदहरूले सुनुवाइ प्रक्रियालाई केवल औपचारिकतामा सिमित नराख्ने प्रतिवद्धता जनाएका छन्।

प्रस्तावित राजदूतहरूको बायोडाटा र कार्ययोजनाको गम्भीर अध्ययन आवश्यक रहेको औंल्याउँदै समितिले सुनुवाइलाई रचनात्मक बनाउने निर्णय गरेको छ। कतिपय उजुरीहरू सामान्य प्रकृतिका रहेकाले त्यसलाई छिटो किनारा लगाइने र जटिल प्रकृतिका उजुरीका हकमा आवश्यक परे छुट्टै उपसमिति गठन गरेर छानबिन गरिने सभापति वोधनारायण श्रेष्ठले जानकारी दिए।

प्रस्तावित १३ जना राजदूतविरुद्ध ७ वटा उजुरी परेका छन्। २ वटा सबैविरुद्ध परेको छ भने पाँच वटा एक–एक जना व्यक्ति तोकेर परेको छ। समितिले २६, २७ र २८ गते सुनुवाइ गर्ने र २९ गते प्रतिवेदन लेखन तथा सिफारिसको काम गर्ने कार्ययोजना बनाएको छ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमण लगायतका कुटनीतिक संवेदनशीलतालाई समेत ध्यानमा राखेर यो निर्णय लिइएको हो। समितिको मंगलवारको बैठकमा प्रस्तावित राजदूत उपर प्राप्त उजुरी खोलिएको र प्रस्तावित राजदूतहरूबाट पेश भएको कार्ययोजना माननीय सदस्यहरूलाई वितरण गरिएको छ।

भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा राजदूतमा सिफारिस भएका छन्।

यस्तै संयुक्त अधिराज्य (बेलायत) का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शमशेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम सिफारिस गरिएको छ।

यसैगरी जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार राजदूत सिफारिस भएका छन्।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १५:००
प्रतिक्रिया दिनुहोस्