संसद बैठकमा सबैभन्दा कम उपस्थित हुने यी हुन् १४ सांसद

शुक्रबार, असोज १६, २०८३

प्रतिनिधिसभाको चालु अधिवेशनमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने १४ जना सांसदहरूको अनुपस्थितिको सूचनालाई प्रतिनिधिसभाले स्वीकृति दिएको छ।

प्रतिनिधिसभा नियमावलीको नियमबमोजिम सभामुख डोलप्रसाद अर्यालले पेश गरिएको अनुपस्थितिको सूचनालाई सभाले सर्वसम्मतिले स्वीकृति जनाएको हो।

संसद् सचिवालयका अनुसार अनुपस्थित हुने सांसदहरूमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि पूर्वमन्त्री तथा अन्य प्रतिनिधिसभा सदस्यहरू रहेका छन्।

सदहरू उपचार, विदेश यात्रा, जिल्ला भ्रमण, अन्तर्राष्ट्रिय कार्यक्रम तथा व्यक्तिगत तथा घरायसी कारणले संसद् बैठकमा अनुपस्थित रहेका हुन्।

संवैधानिक व्यवस्थाअनुसार लगातार १० वटाभन्दा बढी बैठकमा सांसद अनुपस्थित भएमा पद नै जाने व्यवस्था छ। तर सदनबाट अनुपस्थितिको सूचना अनुमोदन गराएर पद कायम गर्ने प्रचलन रहेको छ।

कुन सांसद कति बैठकमा किन अनुपस्थित?

१. पुष्पकमल दाहाल प्रचण्ड : २०८३ वैशाख ३० देखि असार १३ गतेसम्मका २४ वटा बैठकमा अस्पताल भर्ना हुनुपरेकाले अनुपस्थित।

२. योगेश गौचन थकाली : २०८३ असार ५ देखि भदौ ३ गतेसम्मका २० वटा बैठकमा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएकाले अनुपस्थित।

३. विदुषी राणा : २०८३ भदौ ३० देखि असोज १६ गतेसम्मका १५ वटा बैठकमा विदेश यात्राका कारण अनुपस्थित।

४. भरत बहादुर खड्का २०८३ भदौ २९ देखि असोज १५ गतेसम्मका १४ वटा बैठकमा जिल्ला भ्रमणका कारण अनुपस्थित।

५. मोहम्मद इश्तियाक राई : २०८३ भदौ ३० देखि असोज १५ गतेसम्मका १४ वटा बैठकमा व्यक्तिगत कारणले अनुपस्थित।

६. हरिना देवी कामी : २०८३ असोज १ देखि असोज १६ गतेसम्मका १३ वटा बैठकमा ससुराको काजकिरियाका कारण अनुपस्थित।

७. भूमिका लिम्बू सुब्बा: २०८३ असोज ५ देखि असोज १६ गतेसम्मका १२ वटा बैठकमा छोरीको स्वास्थ्य उपचारका कारण अनुपस्थित।

८.जनक राज गिरी: २०८३ भदौ २५ देखि असोज १२ गतेसम्मका १२ वटा बैठकमा घरायसी कामले अनुपस्थित।

९. एलिजा गुरुङ: २०८३ जेठ २६ देखि असार १५ गतेसम्मका ११ वटा बैठकमा स्वास्थ्य उपचारका कारण अनुपस्थित।

१०. सृष्टि भट्टराईस: २०८३ असोज १ देखि असोज १४ गतेसम्मका ११ वटा बैठकमा परीक्षाका कारण अनुपस्थित।

११. खडक शाही: २०८३ असोज ५ देखि असोज १५ गतेसम्मका ११ वटा बैठकमा जिल्ला भ्रमणका कारण अनुपस्थित।

१२. ज्ञानेन्द्र सिंह महता: २०८३ जेठ २५ देखि असार १० गतेसम्मका १० वटा बैठकमा जिल्ला भ्रमणका कारण अनुपस्थित।

१३. इन्दिरा राना मगर: २०८३ असोज ४ देखि असोज १४ गतेसम्मका १० वटा बैठकमा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएकाले अनुपस्थित।

१४. प्रकाश सिंह कार्की: २०८३ असोज ५ देखि असोज १४ गतेसम्मका १० वटा बैठकमा जिल्लामा कार्यक्रम रहेकाले अनुपस्थित।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १६:५४
प्रतिक्रिया दिनुहोस्