सोसल मिडिया
युनिकोड
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।
बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ।
यसैगरी, बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यसूची पनि छ।
बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘ कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ ’, नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ ’ र ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धिन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसैगरी राष्ट्रियसभाको बैठक बिहीबार दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्दैछ। राष्ट्रियसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। यसैगरी प्रधानमन्त्री वालेन्द्र शाहले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची पनि छ। यसैगरी, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ।
त्यसैगरी, आजै कृषि तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दै छ।