’छोरी पिटेर बुहारी तर्साउन खोजेको’ भन्दै प्रचण्ड चोलेन्द्र काण्डमा पड्किए 

सोमबार, असोज १२, २०८३

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने टिप्पणी गरेका छन् ।

सोमबार संघीय संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले ’छोरी पिटेर बुहारी तर्साउन खोजेको’जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक हुने र यसको मूल्य धेरै ठूलो चुकाउनुपर्ने बताए ।

यस्ता घटना नदोहोर्‍याउन उनले सरकारलाई आग्रह गरे । सुरक्षा थ्रेट भनिएको विषय सामान्य मानिसले पनि बुझ्ने खालको बहानाबाजी मात्र भएको उनले बताए । यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनुपर्ने उनले बताए ।

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले अहिले जे बोल्नुपर्थ्यो त्यही लाइनमा बोलेको र त्यो स्वाभाविक रहेको प्रतिक्रिया दिए ।

यस विषयलाई लिएर अनावश्यक बढाइचढाइ गर्न जरुरी नरहेको भन्दै उनले प्रधानमन्त्री बालेनको ठाउँमा अरू जो भए पनि त्यही कुरा बोल्ने टिप्पणी गरे ।
 

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  १३:११
प्रतिक्रिया दिनुहोस्