दुई सचिव बढुवाका लागि आधा दर्जन सहसचिवको लर्को, को-को हुँदैछन् सचिव ?

सोमबार, असोज १२, २०८३

लोकसेवा आयोगले रिक्त रहेको दुई सचिव पदमा बढुवाका लागि आधा दर्जन सहसचिवको नाम सिफारिश गरेको छ। नेपाल प्रशासन सेवातर्फ रिक्त एक सचिव पदमा बढुवाका लागि असोज ५ गते बसेको बढुवा सिफारिस समितिले तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको थियो। 

आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्वासेको अध्यक्षतामा अघिल्लो सोमबार बसेको बढुवा समितिको बैठकले सहसचिव आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम सचिव बढुवाका लागि सिफारिस गरेको थियो। प्रशासन तर्फ आभा सचिवमा बढुवा हुने सम्भावना छ। सरकारले यस अघि पहिलो नम्बरमा सिफारिस गरिएका सहसचिव नै बढुवा गरि आएको नजिरलाई आभा सचिव हुने देखिएको छ। 

त्यस्तै, प्राविधिकतर्फ रिक्त एक सचिव पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिव सिफारिशमा परेका छन्। आजै सोमबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले जगदीश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठको नाम सचिव बढुवाका लागि सिफारिस गरेको हो।

समितिले योग्यताक्रममा कर्माचार्यलाई पहिलो, सिंहलाई दोस्रो र श्रेष्ठलाई तेस्रो नम्बरमा राखेर सिफारिस गरेको छ। प्राविधिकतर्फ रिक्त सचिव पदका लागि तीन जनाको नाम सिफारिस भएसँगै अब सचिव बढुवाको विषय मन्त्रिपरिषदमा जानेछ। प्रचलित व्यवस्थाअनुसार सिफारिस भएका तीन जनामध्ये एक जनालाई सरकारले सचिवमा बढुवा गर्नेछ। कर्माचार्य अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सचिवमा बढुवा हुनेछन्। उनी उर्जा सचिव बन्न लविङ्गमा लागि सकेका छन्। 
 

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  १२:४५
प्रतिक्रिया दिनुहोस्