बाढीपीडितलाई वैदेशिक रोजगार व्यवसायीले गरे १ करोड ५० लाख रुपैयाँ सहयोग

मंगलबार, भदौ १६, २०८३

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट पीडित भएकाहरूको सहयोगका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १ करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ ।

संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’को नेतृत्वमा कार्यसमितिका पदाधिकारी, सदस्यहरू र संघका सल्लाहकारहरूको उपस्थितिमा युवा, श्रम तथा रोजगार मन्त्रालयमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम हस्तान्तरण गरिएको हो ।

संघले विपत्ति, प्राकृतिक प्रकोप तथा महामारीको अवस्थामा संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत योगदान गर्दै आएको संघका महासचिव हिराबहादुर डाँगी (हरि)ले जानकारी दिए ।

संघका महासचिव डाँगीले राष्ट्रसामु निम्तिएको अकल्पनीय पीडामा परेका दाजुभाइ, दिदीबहिनी तथा मृतकका आश्रित परिवारलाई सहयोग पुगोस् भनेर संघसहित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चलगायतका संघसंस्थामा आबद्ध व्यवसायीले उल्लेख्य मात्रामा संघको खातामा रकम जम्मा गरिरहेको बताए ।

रकम हस्तान्तरण कार्यक्रममा सबै संस्थाका प्रतिनिधि सहभागी रहेका थिए । बाढी पीडितहरूको राहत तथा पुनस्र्थापनाको लागि सञ्चालन गरिएको सहयोग अभियानमा संस्था, व्यक्तिगत, शाखा तथा विभिन्न विदेशी संस्थाहरूसमेत गरी हालसम्म ५२० भन्दा बढी व्यवसायी तथा संस्थाहरूको सहभागिता रहेको बताइएको छ । महासचिव डाँगीले सहयोग प्राप्त हुने क्रम अझै जारी रहेको बताए ।

संकलित सहयोग रकमको प्रयोग तथा आगामी राहतसम्बन्धी गतिविधिमा पारदर्शिता, जवाफदेहिता र संस्थागत निर्णय प्रक्रियालाई प्राथमिकता दिइने भन्दै महासचिव डाँगीले अभियानमा सहभागी सम्पूर्ण व्यवसायी, संस्था, शाखा तथा सहयोगी विदेशी संस्थाहरूको योगदानको उचित अभिलेख राखी सम्बन्धित विवरण व्यवसायीलाई समेत जानकारी गराइने बताए ।

संघले विपद्को अवस्थामा मानवीय सेवाभावका साथ सहयोगमा हातेमालो गर्ने सम्पूर्ण वैदेशिक रोजगार व्यवसायी तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ । बाढीपीडितप्रति संघले आफ्नो साथ, सहयोग र ऐक्यबद्धता आगामी दिनमा पनि निरन्तर कायम रहने प्रतिबद्धता जनाएको छ ।

अप्रत्याशित रूपमा आएको बाढीले अपूरणीय क्षति पुर्‍याएपछि बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि सहायता जुटाउन संघका अध्यक्ष खत्रीले श्रम गन्तव्य मुलुकका रोजगारदाताहरूलाई सम्बोधन गर्दै सहयोगका लागि अपिल पनि गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  ०९:२९
प्रतिक्रिया दिनुहोस्