Dashain Banner
Dashain Banner

टनेलमा फसेका सात जना सहित आजै मात्र ११६ जनालाई सकुशल उद्धार गरियो

बिहीबार, भदौ ११, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार भोटेकोसीमा आएको बाढीले पुर्‍याएको विपत्तिको मिलेर सामना गरिरहेको बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमा उनले आज पनि बिहानैदेखि उद्धारको काम सुरु भइसकेको जानकारी दिएका छन्। 

आज बिहानदेखि नेपाली सेनाले सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरिएको प्रधानमन्त्रीको भनाई छ। 

‘उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको छ। प्रभावित स्थलहरूमा अत्यावश्यक सहयोग सामग्रीहरूसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन आदि पुर्‍याइँदैछ।’

छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था हुने जानकारी पनि उनले दिएका छन्। 

‘छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था हुनेछ। जसले सम्पर्क स्थापित गर्न सहयोग पुर्‍याउनेछ। 

नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको छ। खाना तथा पानीको व्यवस्था गरिएको छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा छ। यसले चुस्तदुरुस्त उद्धार तथा राहतका लागि सहयोग पुग्नेछ।’
 
उनले उद्धारको क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइने बताएका छन्। 

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १०:४३
प्रतिक्रिया दिनुहोस्