आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती, राष्ट्रपति पौडेलले दिए शुभकामना

सोमबार, असार २९, २०८३

राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली भाषाप्रेमीमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले एक सन्देश जारी गर्दै भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा पु¥याएको योगदानको स्मरण गरेका छन् । उनले भानुभक्तको योगदानले नेपाली भाषालाई जनताको भाषाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले तनहुँको चुँदीरम्घामा विसं १८७१ असार २९ गते पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा जन्मिएका भानुभक्त आचार्यलाई नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा स्मरण गरेका छन् ।

उनले संस्कृत भाषामा रहेको वाल्मीकि रामायणलाई सरल, शिष्ट र रोचक शैलीमा नेपाली भाषामा अनुवाद गरेर भानुभक्तले नेपाली साहित्यको जग बसालेको बताएका छन् । भानुभक्तीय रामायणले हिमाल, पहाड र तराईमा रहेका नेपालीबीच भावनात्मक एकता कायम गर्न तथा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको राष्ट्रपति पौडेलको भनाइ छ ।

राष्ट्रपति पौडेलले भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको संवद्र्धनमा पु¥याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनले नेपालीभाषी समुदायबीच भाषिक एकता कायम गर्न महत्वपूर्ण योगदान दिएको बताएका छन् ।

भानुभक्तको जन्मस्थललाई साहित्यिक, ऐतिहासिक तथा सांस्कृतिक स्थलका रूपमा विकास गर्न सकेमा उहाँप्रति सच्चा सम्मान हुने राष्ट्रपति पौडेलले बताएका छन् ।
 

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  ०९:३८
प्रतिक्रिया दिनुहोस्