सोसल मिडिया
युनिकोड
वैदेशिक रोजगार विभागले अनुमति नलिई भारतका विमानस्थल प्रयोग गरेर नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई कारबाही गरेको छ । विभागले मागेको विवरण नबुझाउने थप ४३४ म्यानपावर कम्पनीलाई पनि सचेत गराएको हो ।
विभागले शुक्रवार सार्वजनिक गरेको सूचनाअनुसार २०८२ चैत १ गतेदेखि ०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका कामदारको उडान विवरण मागिएको थियो । सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ वटाले मात्र विवरण उपलब्ध गराएका थिए । विवरण अध्ययनका क्रममा १५९ वटा कम्पनीले भारतीय विमानस्थलबाट पठाउन विभागको स्वीकृति नलिई विदेशी विमानस्थल प्रयोग गरी कामदार पठाएको भेटिएको विभागले जनाएको छ ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ मा वैदेशिक रोजगारीमा जाने कामदारले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था उल्लङ्घन गरेको भन्दै विभागले १५९ कम्पनीलाई ऐनको दफा ५४ अनुसार पहिलो पटक सचेत गराएको हो । विभागले माग गरेको विवरण नबुझाउने ४३४ वटा म्यानपावर कम्पनीलाई पनि ऐनको दफा ३७ उल्लङ्घन गरेको ठहर गर्दै पहिलो पटक सचेत गराइएको छ । ती कम्पनीलाई पुनः विवरण पेस गर्न समेत भनिएको छ ।
यसैबीच, विभागले पटक–पटक ऐन, नियम तथा निर्देशन उल्लङ्घन गर्ने आठवटा म्यानपावर कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ । विभागले वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था कार्यान्वयन गराउन अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ । अनुमति नलिई भारतका विमानस्थलमार्फत कामदार पठाउने प्रवृत्तिले कामदारको अभिलेख व्यवस्थापन, सुरक्षा तथा निगरानी प्रणालीमा असर पार्ने भएकाले यस्ता गतिविधिमाथि निगरानी बढाइएको विभागले जनाएको छ ।