आफैंले आफैंलाई आगो लगाएका गणेश नेपालीको कस्तो छ पछिल्लो स्वास्थ्य अवस्था ?

शुक्रबार, असार २६, २०८३

आफ्नै शरीरमा आगो लगाएर घाइते भएका गणेश नेपालीको स्वास्थ्य गम्भीर र अस्थिर रहेको वीर अस्पतालले जनाएको छ । उपचारमा संलग्न चिकित्सकले नेपालीलाई भेन्टिलेटरमा राखिएको र कुनै पनि समय अवस्था बिग्रिन सक्ने जानकारी गराए ।

डा. रविलाम श्रेष्ठको नेतृत्वको टीम नेपालीको उपचारमा संलग्न छ । चिकित्सकका अनुसार उनलाई अस्पताल ल्याउँदा २:२० भएको थियो । तत्कालै उनलाई कुलिङमा राखिएको र त्यसपछि श्वासप्रश्वास सहज गराउन इन्टुबेट गराइएको चिकित्सकले जानकारी गराए । नेपालीको पहिलो शल्यक्रिया भए पनि अवस्थामा सुधार आएको छैन ।

चिकित्सकले भने, ‘प्रथम चरणको अपरेशन सम्पन्न गर्दा ८ बजेको थियो । हामी रातभरि नसुतिकन उपचारमै तल्लिन छौँ । तर, अहिलेसम्म केही भन्न सकिने अवस्था छैन । चिकित्सकको टोली एक ढिक्का भएर लडिरहेको छ ।’

नेपालीको अनुहार, टाउको, घाँटी छाती जलेकाले अवस्था क्रिटिकल भएको उनले बताए । शरीरको भित्री अंगहरूमा पनि असर पुगिसकेको र यति धेरै जलेको बिरामीलाई बचाउन निकै गाह्रो हुने उनको भनाइ छ ।

‘धेरै ठूलो जलन भइसकेपछि शरीरको अरु अंगलाई पनि असर गर्छ । बिरामीको ब्लड सुगर ३०० भन्दा नाघेको छ । तै पनि हामी प्रयासरत छौँ,’ उनले भने ।

अहिले थप उपचारका लागि भारत लैजाने तयारी भए पनि यता अस्पतालबाट निकालेपछि निकै जोखिम हुने चिकित्सकले बताएका छन् ।

‘भारतमा पनि टोली तयार थियो । तर, बिरामीको स्वास्थ्य अवस्थाका कारण जोखिम हुने देखियो,’ उनले भने ।
 

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  ११:२६
प्रतिक्रिया दिनुहोस्