Dashain Banner
Dashain Banner

मेलम्ची आयोजनासँग सम्बन्धित २८ वटा मुद्दा अदालतमा विचाराधीन

बुधबार, असार २४, २०८३

मेलम्ची खानेपानीको समस्या स्थायीरुपमा समाधान गर्न दुई वर्ष लाग्ने भएको छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बुधबार मेलम्ची खानेपानीबारे जानकारी गराउँदै स्थायीरुपमा समाधान गर्न दुई वर्ष लाग्ने बताएका हुन्।

उपाध्यायकाअनुसार आगामी भदौसम्ममा हेडवक्सको स्थायी डिजाइन तयार हुनेछ। २०७८ असार १ गते मेलम्चीको मुहानभन्दा माथिल्लो क्षेत्रमा रहेको भेमाथाङमा गएको अस्वाभाविक बाढी र लेदोका कारण स्थायी हेडवक्र्समा ठूलो क्षति पुगेको थियो। उक्त विपद्पछि हाल वैकल्पिक डाइभर्सन टनेलबाट अस्थायी रूपमा पानी वितरण भइरहेको छ।

हाल मनसुन सुरु भएकाले सुरुङभित्र लेदो पस्न नदिन र सुरुङको सुरक्षाका लागि असार १९ गतेदेखि पानी पठाउन बन्द गरिएको उनले जानकारी दिए। मौसम सफा हुनासाथ र खोलामा पानीको सतह घट्नासाथ पुनः पानी सञ्चालन गरिने उनको भनाइ छ।

बैठकमा निर्देशक उपाध्यायले आयोजनाले भोगिरहेका कानूनी र प्रशासनिक झमेलाबारे पनि जानकारी गराए। हाल मेलम्ची आयोजनासँग सम्बन्धित २८ वटा मुद्दा अदालतमा विचाराधीन छन्, जसमध्ये दुईवटा मुद्दा सिङ्गापुरस्थित अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा रहेका छन्।

इटालियन ठेकेदार कम्पनी सिएमसीसँगको विवाद सुल्झाउन हालसम्म करिब ३२ करोड रुपैयाँ कानूनी प्रक्रियामै खर्च भइसकेको उनले उल्लेख गरे।

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  १५:५५
प्रतिक्रिया दिनुहोस्