Dashain Banner
Dashain Banner

वैदेशिक रोजगार ठगीका पीडितले पाए साढे ४३ करोड रुपैयाँ क्षतिपूर्ति

सोमबार, असार २२, २०८३

पछिल्लो एक वर्षमा वैदेशिक रोजगार सम्बन्धी ठगी घटनाका पीडितले साढे ४३ करोड रुपैयाँ क्षतिपूर्ति पाएका छन् । चालु आर्थिक वर्षमा पीडितहरूले सो क्षतिपूर्ति पाएका हुन् ।

वैदेशिक रोजगार विभागका अनुसार २०८२ साउन १ गतेदेखि २०८३ असार २० गतेसम्मको अवधिमा वैदेशिक रोजगारपीडितलाई कुल ४३ करोड ४१ लाख ५९ हजार ३०४ रुपैयाँ क्षतिपूर्ति रकम उपलब्ध गरिएको हो ।

आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैतसम्म नौ महिनामा ८८२ वटा संस्थागत उजुरी र व्यक्तिगत मुद्दामा अनुसन्धान भएको थियो । ती मुद्दामा १२ करोड ६७ लाख ३९ हजार क्षतिपूर्ति भराइएको थियो ।

पछिल्लो तीन महिना अर्थात् २०८३ वैशाख १ गते यताको अवधिमा एक हजार चारवटा संस्थागत उजुरी र व्यक्तिगत मुद्दाको अनुसन्धान भएको थियो । ती मुद्दामा मेलमिलापमार्फत ३० करोड सात लाख ४२ हजार ३०० रुपैयाँ पीडितलाई उपलब्ध गरिएको छ । 

पछिल्लो तीन महिनामा मुद्दा अनुसन्धान र फछ्र्यौट दर २४१.५ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । सोही अवधिमा वैदेशिक रोजगारपीडितले क्षतिपूर्ति प्राप्त गर्ने दर ६७२.८ प्रतिशतले वृद्धि भएको विभागको दाबी छ ।

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  १२:४५
प्रतिक्रिया दिनुहोस्