सोसल मिडिया
युनिकोड
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का नवनियुक्त उपकुलपति प्रा.डा. भोला थापाले सोमबार कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर पदभार ग्रहण गरेका छन्।
नेपालको जेठो उच्च शैक्षिक संस्था त्रिविको प्रशासनिक तथा शैक्षिक नेतृत्व सम्हाल्दै उनले विश्वविद्यालयको गरिमालाई थप उच्च बनाउने संकल्प व्यक्त गरे। पदभार ग्रहण कार्यक्रममा विश्वविद्यालयका उच्च अधिकारी, प्राध्यापक तथा कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए।
पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मी र त्रिविका कर्मचारीहरूलाई सम्बोधन गर्दै उपकुलपति डा. थापाले सबै पक्षको समन्वय र सहकार्यबाट मात्रै आफू अगाडि बढ्ने स्पष्ट पारे।
“जुन विश्वास र भरोसाका साथ सरकारले मलाई यो जिम्मेवारी सुम्पेर यहाँ पठाएको छ, त्यसलाई कत्ति पनि आँच आउन नदिई सबैसँगको निरन्तर समन्वय र सहकार्यका साथ म अघि बढ्नेछु,” उनले भने। त्रिविमा भइरहेका सकारात्मक कामहरूको प्रशंसा गर्दै उनले कार्यरत जनशक्तिले टिमवर्कका साथ उत्कृष्ट नतिजा दिइरहेको समेत उल्लेख गरे।
उनले आफ्नो शैक्षिक पृष्ठभूमि स्मरण गर्दै आफूले उच्च शिक्षाको सुरुवात नै यही विश्वविद्यालयबाट गरेको र यसप्रति आफ्नो अगाध आस्था रहेको बताए। आफू त्रिविकै उत्पादन भएकाले कसैले पनि बाहिरबाट आएको व्यक्तिका रूपमा नलिन र नसोच्न उनले विशेष आग्रह गरे।
त्रिविलाई देशकै नमुना र अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट प्राज्ञिक केन्द्र बनाउन आफू चौतर्फी सुधारका कार्ययोजनासहित लागिपर्ने दृढता समेत उपकुलपति थापाले व्यक्त गरे।