Dashain Banner
Dashain Banner

संसदीय चुनाव र पार्टी चुनावको चरित्र नबुझेपछि रास्वपा सांसदको साबिती बयान

बिहीबार, असार ११, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा प्रतिनिधिसभा सदस्य आशिका तामाङले चितवनमा जारी पार्टीको पहिलो महाधिवेशनका क्रममा आफूलाई लक्षित गरी भइरहेको आलोचनाप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै तामाङले पार्टीको आन्तरिक निर्वाचन प्रक्रियाबारे आफूलाई पर्याप्त जानकारी नभएको स्वीकार गरेकी छन्।

उनले महाधिवेशनको निर्वाचनलाई सुरुवातमा निर्वाचन आयोगले सञ्चालन गर्ने आम निर्वाचनजस्तै ठानेको उल्लेख गर्दै पार्टीको आफ्नै निर्वाचन आयोग हुने विषयमा आफू अनभिज्ञ रहेको बताएकी छन्।

‘मैले फागुन २१ को चुनावजस्तै होला भन्ने सोचेकी थिएँ। पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने ज्ञान ममा थिएन। त्यसकै आधारमा मिडिया ट्रायल गर्नु आवश्यक छ र?’ उनले लेखेकी छन्।

तामाङले आफ्नो राजनीतिक यात्रा अझै प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै आफू राजनीतिज्ञ परिवारबाट नआएको बताएकी छन्। ‘मेरो राजनीतिक जन्म भएको दुई महिना पनि राम्रोसँग पुगेको छैन। न मेरो बुवा राजनीतिज्ञ हुनुहुन्थ्यो, न आमा, न म स्वयं राजनीतिमा हुर्किएको व्यक्ति हुँ,’ उनले भनेकी छन्।

उनले मानिस सिक्दै र बुझ्दै जाने प्रक्रिया स्वाभाविक रहेको उल्लेख गर्दै महाधिवेशनबाट आफूले एउटा निष्कर्ष निकालेको पनि बताएकी छन्।

‘महाधिवेशनबाट मैले के बुझेँ भने दुःख पाउने त उही भुइँमान्छे, जनता नै रहेछन्, जता पनि,’ तामाङले फेसबुकमा लेखेकी छन्।

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  १३:३९
प्रतिक्रिया दिनुहोस्