Dashain Banner
Dashain Banner

प्रधानमन्त्री वालेन्द्रले पेलेपछि अर्थमन्त्री वाग्ले खुम्चिए, सीमाभन्दा ठूलो बजेट

शुक्रबार, जेठ १५, २०८३

प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को चाहनाअनुसार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ठूलो आकारको बजेट ल्याउन लागेका छन् । विगतमा ठूलो आकारको बजेटको विपक्षमा उभिने गरेका वाग्लेले प्रधानमन्त्री शाहकै चाहनामा सीमाभन्दा ठूलो बजेट ल्याउन लागेका हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले निर्धारण गरेको सीमाभन्दा ठूलो आकारको बजेट ल्याउन लागेको आयोग स्रोतले उल्लेख गरेको छ ।

प्रधानमन्त्री शाहको चाहना नै ठूलो आकारको बजेट भएकाले अर्थमन्त्री वाग्लेले पनि त्यसैअनुसार स्रोत समितिका अधिकारीहरूसँग छलफल गरेका थिए । उक्त छलफलपछि स्रोत समितिले पनि आफ्नो सीमा पुनरावलोकन गरेको थियो ।

पछिल्ला दिनमा राजस्वमा आएको संकुचन, वैदेशिक सहयोगमा आएको गिरावट र भूराजनीतिक दबाबले स्रोत सीमित बन्दै गएको छ । त्यहीकारण नेपालको बजेटको आकार पनि आशातीत रूपमा बढ्न सकेको छैन । तर, प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्ले भने राजस्व संकलनमा महत्त्वाकांक्षी देखिएका छन् ।

उनीहरूले करको दर र दायरा बढाउने प्रयास गरिरहेका छन् । त्यही आधारमा सरकारले राजस्व संकलनको महत्त्वाकांक्षी लक्ष्यसहित ठूलो आकारको घाटा बजेट ल्याउन लागेका हो । राष्ट्रिय स्रोत अनुमान समितिले आउँदो आर्थिक वर्ष २०८३–८४ को बजेट सीमा १८ खर्ब ९० अर्ब रुपैयाँ तोकेको थियो । तर, सरकारले आफ्नो महत्त्वाकांक्षी योजनासहितको बजेट १८ खर्बको सीमाभित्र ल्याउन नसक्ने भएपछि स्रोत समितिले यसअघि दिएको बजेटको सीमा बढाएर २१ खर्बभन्दा बढीको बनाएको छ ।

यो सीमा भने १३ जेठको बैठकले बढाएको हो । सरकारले ल्याउने यो झन्डै साढे २१ खर्बको बजेट चालु आर्थिक वर्षको बजेटको संशोधित अनुमानभन्दा साढे ४ खर्ब रुपैयाँले बढी हो । अहिले १९ खर्ब ६४ अर्बको बजेट विनियोजन गरिएकोमा मध्यावधि समीक्षाबाट संशोधन गरी १६ खर्ब ८८ अर्ब रुपैयाँ कायम गरिएको थियो । यसरी बजेटको आकार घटाउनुका कारण चाहिँ राजस्व संकलन अपेक्षित नहुने अनुमानसहित हो ।

साथै, वैदेशिक सहायताको सम्भावना पनि कम देखिएको थियो । अहिले सरकार भने दुईवटा आधारमा स्रोत जुट्ने बताइरहेको छ । पहिलो राजस्व संकलन अपेक्षाभन्दा बढ्ता हुने अनुमान गरिरहेको छ ।

सरकारले सुशासनलाई जोड दिने भएकाले चुहावट हुने राजस्व नियन्त्रण हुने अनुमान गरिरहेको छ । त्यसले विगतमाभन्दा राजस्व उच्च अंकले बढ्ने दाबी गरिरहेका छन् । त्यसबाहेक, वैदेशिक सहायता पनि बढ्ने सरकारको दाबी देखिन्छ ।

त्यसो त, दुईतिहाइ शक्तिसहितको सरकारसँग नागरिकका अपेक्षा पनि धेरै छन् । खासगरी युवा पंक्तिले अहिलेको सरकारसँग बढी आश गरेका छन् । रोजगारी सिर्जना हुने उनीहरूको आश छ । त्यसका लागि सरकारले केही महत्त्वाकांक्षी परियोजनाहरू र नीतिगत सुधार ल्याउनुपर्नेछ । त्यही दबाबका कारण पनि सरकार बजेटको आकार बढाउनुपर्ने दबाबमा रहेको सरकारी अधिकारीहरू बताउँछन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १०:०४
प्रतिक्रिया दिनुहोस्