कोरिया जान भाषा परीक्षा पास गरेका युवाको नाराबाजीले माईतीघर गुञ्जियो 

सोमबार, जेठ ११, २०८३

रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत भाषा परीक्षा र विभिन्न प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान प्रतीक्षामा रहेका युवाहरूले सोमबार (जेठ ११ गते) माइतीघरमा प्रदर्शन गरेका छन्।

'पास गरेकोलाई कोरिया पठाऊ', 'रोजगारको अधिकार सुनिश्चित गर' लगायतका नारासहित उनीहरूले सरकारसँग आफूहरूलाई शीघ्र कोरिया पठाउने व्यवस्था गर्न माग गरेका छन्।

दक्षिण कोरिया रोजगारीका लागि ईपीएस परीक्षा पास गरेपछि पनि हजारौं नेपाली युवा लामो समयदेखि प्रतीक्षामा छन्। कोरियाली रोजगारदाताबाट ‘रोस्टर’ मा परेर पनि श्रम सम्झौता (लेबर कन्ट्र्याक्ट) नआउनु, कोटाको सीमितता, प्रक्रिया ढिलाइ, केही समयअघिको कोभिड महामारीको असर, तथा नेपाल–कोरिया श्रम आपूर्ति प्रक्रियामा आएको प्रशासनिक जटिलताका कारण धेरै युवाहरू जान नपाएको बताइन्छ।

प्रदर्शनमा सहभागी युवाहरूले वर्षौं लगाएर भाषा परीक्षा पास गरेको, तालिम तथा कागजी प्रक्रियामा ठूलो खर्च गरेको तर अझै रोजगारका लागि जान नपाएकोले सरकारसँग पारदर्शी प्रक्रिया, थप श्रम कोटा र छिटो पठाउने व्यवस्था गर्न माग गरेका छन्। 

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  १४:३४
प्रतिक्रिया दिनुहोस्