सोसल मिडिया
युनिकोड
जेठ १५ गते बजेट सार्वजनिक गर्ने चटारोको चेपुवामा परेको अर्थमन्त्रालयले तीन वर्षपछि सरकारी कर्मचारीको तलब बढाउने भएको छ। बजेटमा कर्मचारीको तलब बढ्ने शब्द समावेश भईसकेको छ। तर, कति तलब बढाउने भन्ने विषयमा भने मन्त्रालयले हिसाबकिताब मिलाईसकेको छैन।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तलब वृद्धिको घोषणा गर्ने गरिको मिठो शब्द बजेट पुस्तिकाको खेस्रामा समावेश गरिसकेका छन्। निजी क्षेत्रसँगको तुलनामा सरकारी सेवाप्रतिको आकर्षण घट्न थालेको तर्क गर्दै तलब तथा सुविधा बढाउन आवश्यक रहेको निष्कर्षमा बजेट टिमले पुर्याएपछि वाग्लेको पनि मन पग्लिएको हो। जुन विषयलाई प्रधानमन्त्री वालेन्द्रले सातादिन अघि नै लाहाछाप लगाईदिएका छन्।
तलब बढाउने विषय टुंगो लागेपनि अहिलेसम्म कुन आधारमा वा कति तलब वृद्धि गर्ने भन्नेमा अर्थ मन्त्रालयको टोली निष्कर्षमा पुगेको छैन। तर २०७९/८० मा गरिएको वृद्धिदरभन्दा कम नहुने स्रोतले जनाएको छ। त्यतिबेला १५ प्रतिशतका दरले तलब बढाइएको थियो।
कानुनतः तीन वर्षमा एकपटक अर्थात् दुई वर्षको अन्तरालमा तलब वृद्धि गर्नुपर्ने व्यवस्था भए पनि अहिले तीन वर्षपछि मात्रै सरकारले तलब बढाउन लागेको हो। पछिल्लो पटक आर्थिक वर्ष २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १५ प्रतिशत तलब वृद्धि गरेका थिए।
ऐनअनुसार गत वर्ष तलब बढाउनुपर्ने थियो। अघिल्लो साल नबढेपछि अहिले घटीमा २० र बढीमा २५ प्रतिशतले तलब बढ्ने लगभग पक्का जस्तै छ।