विभिन्न देशमा जान पर्खिएका कामदारलाई संयम रहन सरकारको आग्रह

बुधबार, जेठ ६, २०८३

युवा, श्रम तथा रोजगार मन्त्रालयले इजरायल र दक्षिण कोरियामा रोजगारीका लागि प्रतिक्षामा बसेका नेपाली श्रमिकलाई नयाँ विज्ञापन तथा निर्धारित प्रणालीअनुसार अगाडि बढ्न आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै इजरायलतर्फ ‘लोटरी आउट’ भएका तथा दक्षिण कोरिया को रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत प्रतीक्षारत उम्मेदवारलाई संयमता अपनाउन अनुरोध गरेको हो ।

मन्त्रालयका अनुसार नेपाल र इजरायलबीच सन् २०२० मा सम्पन्न श्रम सम्झौता अनुसार केयर गिभर क्षेत्रका लागि २ हजार ११२ जना नेपाली श्रमिक छनोट भएका थिए । तीमध्ये अधिकांश श्रमिक इजरायल पुगिसकेको र बाँकीको प्रक्रिया जारी रहेको उल्लेख गरिएको छ ।

इजरायल जान प्रतीक्षारत युवाहरूले हालै माइतीघर मण्डलामा प्रदर्शन गरेपछि मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

विज्ञप्तिअनुसार इजरायली निकाय ‘पिबा’ को लटरी प्रक्रियामा छनोट हुन नसकेका १ हजार १५३ जना उम्मेदवारको विषयमा नेपाल सरकारले कूटनीतिक पहल गरेको जनाएको छ । तर इजरायल पक्षले हालको प्रक्रियाभित्र उनीहरूलाई समावेश गर्न नसकिने र आगामी दिनमा खुल्ने नयाँ आवेदन प्रक्रियामा पुनः सहभागी हुन सक्ने जानकारी दिएको मन्त्रालयले उल्लेख गरेको छ ।

यसैबीच, ईपीएसमार्फत दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका उम्मेदवारको हकमा पनि दुई देशबीचको श्रम समझदारी र स्थापित प्रणालीअनुसार नै प्रक्रिया सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता पीताम्बर घिमिरे द्वारा जारी विज्ञप्तिमा कोरियासम्बन्धी प्रक्रिया निर्धारित मापदण्डअनुसार नै अघि बढ्ने भएकाले अनावश्यक दबाब वा अतिरिक्त माग आवश्यक नरहेको उल्लेख गरिएको छ । मन्त्रालयले सम्पूर्ण उम्मेदवार तथा सरोकारवालालाई सहयोग र समझदारीका लागि आग्रहसमेत गरेको छ । मन्त्रालयले अन्य केही युरोपेली मुलुकमा जिटुजी प्रणाली मार्फत पठाईने कामदारलाई समेत केही महिना होल्ड गराउने भएको छ ।image-221-1779266830.png

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  १४:३३
प्रतिक्रिया दिनुहोस्