सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभा बैठकमा विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र छोडेको विषय उठेको छ। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसकी सांसद निनु कर्ण र नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले यो विषय उठाएकी हुन्।
उनीहरूले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लगाइन्।
रास्वपाका तर्फबाट मोरङ–२ बाट निर्वाचित कार्कीले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषय सामाजिक सञ्जालमा भाइरल भएको छ।
कांग्रेस सांस कर्णले रास्वपा सांसद कार्कीले विदेशी महिलालाई प्रेमजालमा फसाएर भावनात्मक ब्ल्याकमेल गरेको बताइन्। विदेशी महिलालाई नछाड्ने सांसदले आफ्नो मुलुकका महिलालाई कसरी सम्मान गर्लान् भन्दै उनले प्रश्न गरिन्।
सांसद कर्णले यथाशीघ्र सत्यतथ्य जानकारी गराउन आग्रह गरिन्।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले रास्वपा सांसद कार्की संलग्न रहेको भनिएको घटनाबारे प्रस्ट पार्न माग गरिन्। सत्तारुढ पार्टीका सांसदले विदेश महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषय सामाजिक सञ्जालमा भाइरल भइरहेको भन्दै उनले घटनाको यथार्थबारे सदनमा स्पष्ट पार्नुपर्ने जिकिर गरिन्।