वैदेशिक रोजगार व्यवसाय कोषको रकममा राँईदालो

मंगलबार, जेठ ५, २०८३

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसाय कोषको रकम नियमविपरीत खर्च गरेको पाइएको छ । कोषमा रहेको मध्ये ८४ लाख ९२ हजार रुपैयाँ नियमविपरीत प्रिफ्याब पार्टिसन, अनुगमन तथा वैदेशिक भ्रमण, मसलन्द तथा कार्यालय सामान खरिद र अतिथि सत्कारमा खर्च गरिएको पाइएको हो ।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २५ (३) बमोजिम इजाजत माग गर्ने संस्थाबाट प्राप्त धरौटी रकमको ९० प्रतिशत मुद्दती खातामा लगानी गरी प्राप्त हुने ब्याजको २५ प्रतिशत रकम विभागले वैदेशिक रोजगार व्यवसाय कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । 

उक्त रकम नियम २५(४) बमोजिम इजाजतपत्रवालाको व्यावसायिक क्षमता अभिवृद्धि तथा कल्याणकारी कार्य वा वैदेशिक रोजगारसम्बन्धी अध्ययन, अनुसन्धानका काममा उपयोग गर्नुपर्ने उल्लेख छ ।

महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/८२ का गतिविधिलाई समेटेर हालै सार्वजनिक गरेको आफ्नो ६३औँ वार्षिक प्रतिवेदनानुसार, विभागले उक्त वर्ष धरौटीबापत प्राप्त भएको पाँच अर्ब १३ करोड रुपैयाँ विभिन्न ६ वाणिज्य बैंकको मुद्दती खातामा लगानी गरेको थियो ।

उक्त लगानीबाट प्राप्त ब्याज २५ करोड ८३ लाख ३४ हजारमध्ये १० करोड ६९ लाख ७८ हजार रुपैयाँ वैदेशिक रोजगार बोर्डमा पठाइएको थियो ।

“कोषमा जम्मा भएको रकम नियमावलीमा तोकिएको कार्यमा उपयोग गर्नुपर्नेमा विभागले प्रिफ्याब पार्टिसन, अनुगमन तथा वैदेशिक भ्रमण, मसलन्द तथा कार्यालय सामान खरिद र अतिथि सत्कारमा समेत ८४ लाख ९२ हजार रुपैयाँ खर्च गरेको पाइयो । नियमावलीमा व्यवस्था गरेको शीर्षकमा खर्च गर्नुपर्दछ,” महालेखाले प्रतिवेदनमा भनेको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १२:३५
प्रतिक्रिया दिनुहोस्