काम नगरी भुक्तानी लिई भ्रष्टाचार गरेको आरोपमा प्रदेश सचिवलाई अख्तियारले लगायो काँजो

बुधबार, वैशाख २, २०८३

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन सचिव अधिकारीसँगै वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली,कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली,लेखा अधिकृत लक्ष्मण पौडेल र सह-लेखापाल अजय मिश्रलगायतविरुद्ध मुद्दा दायर गरिएको हो।

शीतभण्डार निर्माण योजनामा प्रचलित कानुनविपरीत सम्झौताअनुसारको काम नगरी अधुरो छाड्दै भुक्तानी लिई भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि लगाइएको छ।

रुपन्देहीको सम्मरीमाइ गाउँपालिका–५ सिद्धनाथमा निर्माणाधीन शीतभण्डारको गलत कार्यसम्पादन प्रतिवेदन तयार गरी रकम भुक्तानी लिएको भन्दै उनीहरूविरुद्ध उजुरी परेको थियो।

सोही उजुरीका आधारमा गरिएको अनुसन्धानमा आर्थिक वर्ष २०७६/७७ मा ७१ लाख ९७ हजार ९८० रुपैयाँ हिनामिना भएको खुलेको आयोगले जनाएको छ। सोही रकम बराबर बिगो तथा जरिवाना सजाय माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  १६:२९
प्रतिक्रिया दिनुहोस्