Dashain Banner
Dashain Banner

कर्मचारीलाई कस्न सञ्चार मन्त्रालयले ल्यायो यस्तो नौ बुँदे आचारसंहिता र प्रतिबद्धतापत्र

बुधबार, वैशाख २, २०८३

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नौ बुँदे आचारसंहिता र प्रतिबद्धतापत्र ल्याएको छ। मन्त्रालय र अन्तर्गत निकायमा कार्यरत कर्मचारीलाई पालना गराउन उक्त आचारसंहिता र कर्मचारीको प्रतिबद्धतापत्र ल्याइएको हो।

कर्मचारीले नेपालको संविधान र अन्य प्रचलित नीति एवम् कानुनमा पालना गर्नुपर्ने भनी उल्लेख भएका आचरण, नियम र व्यवस्थाको पूर्ण रूपमा पालना गर्नुपर्ने आचारसंहितामा उल्लेख छ।

“कर्मचारीहरू नेपाल सरकारबाट निर्धारित समयमा नियमित रूपमा कार्यालयमा हाजिर हुनुपर्ने र सकेसम्म पहिले बिदाको स्वीकृति नलिई अनुपस्थित हुन नहुने,” आचारसंहितामा भनिएको छ।

आचारसंहितामा कर्मचारीले कार्यालयमा रहँदा र कार्यालयको तर्फबाट प्रतिनिधित्व गर्दा तोकिएबमोजिमको पोशाक लगाउनुपर्ने उल्लेख छ। कार्यालयमा रहँदा आफ्नो परिचयपत्र सबैले देख्न सक्ने गरी लगाउनुपर्ने पनि जनाइएको छ।

“प्रत्येक कर्मचारीले आफ्नो डेस्क वा सिस्टममा आएका काम सकेसम्म सोही दिन वा सोको भोलिपल्टसम्म सम्पन्न गरिसक्ने। कुनै द्विविधा वा विलम्ब हुने भए सम्बन्धित सुपरिवेक्षकलाई समयमै जानकारी गराउनुपर्ने,” आचारसंहिता तथा प्रतिबद्धतापत्रमा भनिएको छ।

कुनै टिप्पणी, पत्र वा निर्णयको उठान वा सुरु गर्ने कर्मचारीले आफूले गरेको कामको ट्रयाकिङ वा फलो गरी आफ्नो सुपरिवेक्षकलाई जानकारी गराउनुपर्ने आचारसंहिता तथा प्रतिवद्धतापत्रमा उल्लेख छ।

कर्मचारीले आफूलाई सुप्पिएको जिम्मेवारी छिटो, छरितो, पूर्ण र गुणस्तरीय रूपमा निर्वाह गर्न सदा प्रयत्नशील रहनुपर्ने पनि जनाइएको छ।

“सेवा प्रदान गर्दा वृद्ध, अशक्त, अपांगता भएका व्यक्ति, सुत्केरी वा गर्भवती महिला, बालबालिका र असहायलाई प्राथमिकता दिनुपर्ने,” आचारसंहिता तथा प्रतिबद्धतापत्रमा भनिएको छ।

कर्मचारीहरूले कार्यालय परिसर तथा आफ्नो कार्यकक्षलाई सफा राख्नुपर्ने तथा स्रोतसाधनको मितव्ययी र प्रभावकारी प्रयोग गर्नुपर्ने जनाइएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  १६:०९
प्रतिक्रिया दिनुहोस्