Dashain Banner
Dashain Banner

क्रिप्टो करेन्सी र हुण्डीको कारोबार गर्ने ४ जनालाई प्रहरीले समात्यो

मंगलबार, चैत २४, २०८२

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले क्रिप्टो करेन्सी तथा हुण्डीको कारोबार गर्ने ४ जनालाई पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन विपरीत हुने गरी हुण्डी तथा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) समेतको प्रयोग गरी गैरकानूनी तवरले वित्तिय कारोबार गरेको अभियोगमा ४ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए। 

उनका अनुसार चितवन रत्ननगर -२ घर भई ललितपुरको झम्सिखेल बस्ने सवन अधिकारी, काठमाडौंको लोलाङ बस्ने आशिष अधिकारी, चितवन भरतपुर - ८ घर भई काठमाडौंको ठमेल बस्ने रबिन जि आर र ललितपुर महालक्ष्मी- ४ ईमाडोल बस्ने अनित्य शाक्यलाई पक्राउ गरेको हो। 

नेपाली ३० लाख र USDT कारोबार गर्ने विद्युतीय उपकरणसहित उनीहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ क बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुर तथा दफा १६२(क़) बमोजिम अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ।
 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्