संसदमा बादल मडारिएपछि एमाले भित्र गाँड कोराकोर

शुक्रबार, चैत २०, २०८२

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले गत भदौ २३ र २४ गतेका घटना हुनुमा आफ्नो पार्टी पनि जिम्मेवार रहेको बताएका छन्। 

बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा आफ्नै पार्टीका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जेनजी आन्दोलनका बेला भएका हिंसा र विध्वंसमा अरूलाई मात्र दोषी देखाउने अभिव्यक्ति दिएपछि नेता पाण्डेले त्यसको खण्डन गरेका हुन्। 

‘हिजो संसद्‌मा 'षड्यन्त्र'का लामा कथाहरू सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो- सबै दोष अरूलाई! हामी पनि दोषी छौँ- यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र’, एमाले नेता पाण्डेले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब यो 'घेराबन्दी'मा पर्‍यौँ भन्ने 'राष्ट्रवादी' राजनीति निकै पुरानो भयो। अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आआफ्ना एजेन्डा मात्र हुन्।’

उनले अगाडि लेखेका छन्, ‘आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगरौँ। २३/२४ छानबिन हुनुपर्छ- तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन।’

रास्वपाको जादुमय विजयमा टीओबीदेखि बारबरा फाउन्डेसनसम्मको भूमिका भएको भन्दै बादलले संसद बैठकमा सम्बोधन गरेका थिए ।

यसअघि बिहीबारै एमालेका उपाध्यक्ष विष्णु पौडेलले पनि संसदीय दलका नेता बादलको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिसकेका छन्।

‘प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस सम्बन्धमा भोलि (शुक्रबार) आयोजना गरिएको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु।’ 

यस्तै बादलको भनाइप्रति एमालेका उपमहासचिव योगेश भट्टराईले पनि असन्तुष्टि जनाएका छन्।

‘जनताको बहुदलीय जनवाद नेकपा (एमाले) को सिद्धान्त हो। प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने जबजको मान्यता हो’, भट्टराईले बिहीबारै सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा जानु जबजको मर्म हो।’ 

एमाले राज्यपक्षीय दल भएको पनि भट्टराईले उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा (एमाले) आज सरकारको विपक्षी दल हो तर राज्यपक्षीय दल हो।’

उनले राज्यका सबै अंगप्रति एमालेको सम्मान र विश्वास रहेको बताएका छन्।

‘नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायालय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव छैन, त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहनेछ’, भट्टराईले भनेका छन्, ‘संसद् वा सड़क, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत् रहनेछ।’

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्