ओली र लेखकलाई थुनामा राख्न म्याद थपको निवेदनमाथि बहस सकियो, के आउला निर्णय ?

आइतबार, चैत १५, २०८२

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न म्याद थपको निवेदनमाथि बहस सकिएको छ। 

आइतबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा बहस भएको हो। म्याद थपका लागि प्रहरीले पूर्वमन्त्री लेखकलाई अदालतमा उपस्थित गराएको थियो। 

पूर्वप्रधानमन्त्री ओलीले भने अस्पतालबाट भिडिओ कन्फ्रेन्समार्फत बहसमा जोडिएका थिए। उनी त्रिवि शिक्षण अस्पतालमा छन्। 

जिल्ला अदालतमा भएको बहसमा सरकारी वकीलले ओली र लेखकलाई अनुसन्धानका लागि थुनामा राख्नुपर्ने बताएका थिए। ओली र लेखकको तर्फबाट बहस गरेका कानुन व्यवसायीले दुवै जनालाई थुनामा राख्न नहुने जिकिर गरेका थिए। 

अब केहीबेरमा न्यायाधीश श्रेष्ठको इजलासले म्याद थपको निवेदनमाथि निर्णय सुनाउनेछन्। 

जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा प्रहरीले शनिबार ओली र लेखकलाई पक्राउ गरेको थियो। 

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्