नेपाल टेलिकमले प्रिपेड रोमिङ सुविधा विश्वका ६२ देशमा पुर्‍यायो

शुक्रबार, चैत ६, २०८२

नेपाल टेलिकमले आफ्नो प्रिपेड रोमिङ सुविधालाई थप विस्तार गर्दै विश्वका ६२ देशमा पुर्‍याएको छ । 

कम्पनीले ती देशका कुल ८९ सेवा प्रदायकहरूसँग सम्झौता गरी यो सेवा उपलब्ध गराएको हो ।

चालु आर्थिक वर्षको साउन महिनायता लाटभिया, स्लोभेनिया, टर्की, ताइवान, घाना, रोमानिया र लाओसका साथै पाकिस्तान, बेलारुस र श्रीलंकाका थप सेवा प्रदायकहरूसँग नयाँ सम्झौता गरिएपछि यो सेवाको दायरा बढेको हो । यस सेवा अन्तर्गत ग्राहकहरूले विदेशमा रहँदा भ्वाइस, डाटा र एसएमएस सुविधा प्रयोग गर्न सक्नेछन् ।

टेलिकमका अनुसार भारत बाहेकका अन्य उल्लेखित देशहरूमा प्रिपेड प्रयोगकर्ताका लागि रोमिङ सेवा स्वतः सुचारु हुने व्यवस्था गरिएको छ । भारतको हकमा भने ग्राहकले आफ्नो मोबाइलबाट *1415*7# डायल गरी मेनुबाट ‘Roaming’ विकल्प छान्नुपर्ने हुन्छ ।

पोस्टपेड प्रयोगकर्ताहरूले भने यो सेवा सुचारु गर्न मोबाइलमा कम्तिमा पाँच हजार रुपैयाँ ब्यालेन्स कायम राख्नुपर्नेछ । यदि कोही ग्राहक नेपालमा सेवा सक्रिय नगरी विदेश पुगेका छन् भने उनीहरूले टेलिकमको वेबसाइटबाट फारम डाउनलोड गरी आवश्यक कागजातसहित [email protected] मा इमेल गरेर पनि सेवा सुचारु गराउन सक्नेछन् ।

विदेशमा रहँदा सामान्यतया मोबाइल स्वचालित रूपमा स्थानीय नेटवर्कमा कनेक्ट हुन्छ, तर भारतमा भने प्रिपेड र पोस्टपेड दुवै प्रयोगकर्ताले म्यानुअल रूपमा नेटवर्क चयन गर्नुपर्ने टेलिकमले जनाएको छ । अन्य देशमा पनि स्वतः कनेक्ट नभएमा मोबाइल सेटिङमा गई आफैं नेटवर्क खोज्न सकिनेछ ।

विदेश जाने वा बस्ने नेपालीहरूका लागि लक्षित यो सेवालाई आगामी दिनमा अन्य देशहरूमा पनि क्रमशः विस्तार गर्दै लैजाने कम्पनीको योजना छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १०:०८
प्रतिक्रिया दिनुहोस्