Dashain Banner
Dashain Banner

अब स्तन तथा पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

मंगलबार, चैत ३, २०८२

स्तन तथा पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण तथा प्रारम्भिक उपचार सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता गरेको छ । महानगरले महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै उक्त सेवा सुरु गर्न लागेको हो ।

विशेष गरी कामकाजी महिला र गृहिणीलाई सहज हुने गरी परीक्षण तालिका व्यवस्थापन गर्न कार्यवाहक प्रमुख सुनिता ढंगोलले निर्देशन दिएकी छन् ।

सम्झौताअनुसार, परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच गरिनेछ । प्रारम्भिक जाँचमा शंका लागेमा अल्ट्रासाउन्ड गरिनेछ । आवश्यकताअनुसार मेमोग्राफीका निम्ति पठाइने व्यवस्था गरिएको छ ।

यस्तै, पाठेघरको मुखको क्यान्सरअन्तर्गत एचपीभी डीएनए पीसीआर (ह्युमन प्यापिलोमा भाइरस) परीक्षण गरिनेछ । उक्त परीक्षणमा पोजिटिभ रिपोर्ट आएमा थप पुष्टि गर्न कल्पोस्कोपी र बायोप्सी गरिनेछ ।

महानगरपालिकाले यो कार्यक्रममार्फत प्रारम्भिक चरणमै क्यान्सर पहिचान गरी समयमै उपचार सम्भव हुने विश्वास लिएको छ । महिलालाई नियमित स्वास्थ्य परीक्षणमा सहभागी हुन आग्रह समेत गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्