Dashain Banner
Dashain Banner

मध्यपूर्वमा गोलाबारी चलेकै बेला फागुनमै मात्र ५२ हजार बढी नेपाली उतै उडे

सोमबार, चैत २, २०८२

मध्यपूर्वमा बढ्दो तनावबीच फागुन महिनामा ५२ हजार बढी नेपाली रोजगारीका लागि विदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन महिनामा ५२ हजार ९ सय ४४ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसमेत) लिएका छन् ।

जसमा ४६ हजार ४ सय ५२ जना पुरूष र ६ हजार ३ सय ९२ महिला रहेका छन् । फागुन महिनामा पहिलो पटक मात्रै २८ हजार ३ सय ८३ जनाले श्रम स्वीकृति लिएका छन् भने २४ हजार ५ सय ६१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु भएको आज १७ दिन भएको छ । इरानले खाडी तथा अन्य देशमा रहेका अमेरिका सैन्य बेस क्याम्पमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । जसले गर्दा यूएई, कतार, साउदी, ओमान, बहराइन लगायतका देशमा रहेका नेपालीहरूको सुरक्षा चिन्ता बढिरहेको छ ।

सरकारले अर्को सूचना जारी नभएसम्मका लागि साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति स्थगन गरेको छ । फागुन १७ गते श्रममन्त्री स्तरीय निर्णयबाट श्रम स्वीकृति तथा नवीकरण स्थगन भएको हो । तर फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

फागुनमा सबैभन्दा बढी मलेसियामा १२ हजार ६०१ जना, यूएईमा ११ हजार ४ सय ९२, कतारमा ६ हजार ७ सय ७५ जना, साउदी अरेबियामा ६ हजार २ २५ जना श्रम स्वीकृति लिएर गएका छन् । फागुनको दोस्रो सातासम्म श्रम स्वीकृति लिएकाहरु वैदेशिक रोजगारमा गएकाले फागुनमा जानेको संख्या पनि उल्लेख्य नै देखिएको हो ।
 

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्