निर्वाचनका लागि खडा गरिएका विशेष एकाइ र केन्द्रहरू बन्द

बुधबार, फागुन २७, २०८२

निर्वाचन आयोगले २१ फागुनमा सम्पन्न निर्वाचनको तयारीका लागि केन्द्रीय कार्यालयमा स्थापना गरेका विशेष एकाइ तथा समन्वय केन्द्रहरू बन्द गरेको छ । आयोगको मंगलबारको निर्णयअनुसार आजदेखि लागू हुनेगरी विशेष एकाइ र केन्द्रहरू बन्द गरिएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आयोगले विशेष एकाइ तथा समन्वय केन्द्रहरू स्थापना गरेको थियो ।

निर्वाचन प्रक्रियासँग सम्बन्धित सूचनाको प्रभावकारी सम्प्रेषण, सरोकार भएका निकायबीच समन्वय तथा मतदाता र सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोगले गत ११ पुसदेखि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र (इआइडीसी) स्थापना गरेको थियो ।

त्यस्तै, मतदाता र सर्वसाधारणका निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि गत ५ माघदेखि ‘कल सेन्टर’ र सुरक्षा निकायबीच सहकार्य तथा निर्वाचन प्रक्रियाको समग्र समन्वयका लागि गत ११ माघदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) सञ्चालनमा ल्याइएकामा मतदान एवं मतगणनाको कार्य सम्पन्न भएपछि आजदेखि लागू हुनेगरी ती एकाइ र केन्द्रहरू बन्द गरिएको हाे ।

सञ्चालन अवधिभर निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र मातहतको सूचना सदाचार प्रवर्द्धन एकाइले निर्वाचनसम्बन्धी ९९८ हानिकारक सूचना पहिचान र विश्लेषण गरी सम्बन्धित नियामक निकायमा पठाएको छ ।

यस्तै केन्द्र मातहतका विद्युतीय मतदाता शिक्षा एकाइले निर्वाचन प्रक्रिया, मतदाता शिक्षा तथा निर्वाचन सचेतनासम्बन्धी श्रव्यदृश्य (भिडिओ) र पोस्टर गरी ७०४ वटा सामग्री निर्माण गरी आयोगको डिजिटल प्लेटफर्मबाट प्रकाशन तथा प्रसारण गरेको छ ।

प्रेस कार्यालयले आयोगका काम कारबाहीको सूचना प्रवाह, सञ्चारमाध्यमसँगको समन्वय र प्रेस ब्रिफिङ, दैनिक पत्रपत्रिकाका सामग्री विश्लेषण, आचारसंहिताविपरीतका सामग्री पहिचान र कारबाहीका लागि सिफारिस तथा मतदाता शिक्षाका सामग्री निर्माण गरेको छ । साथै कल सेन्टरले मतदाता नामावली, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रक्रियाका अन्य विषयसमेत गरी आम मतदाताका आठ हजार २२० जिज्ञासाको सम्बोधन गरेको आयोगले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्