सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश निकै अप्ठेरो परिस्थितिमा रहेको बताएका छन् । ‘देश अप्ठेरो परिस्थितिमा छ । सबै मिलेर बचाउनु पर्छ,’ उनले भने ।
उनी मोरङको निर्वाचन क्षेत्र नम्मर–६ का उम्मेदवार समेत हुन् । कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श विद्यालय मतदान केन्द्रमा बिहान ८ः३० बजेतिर मतदान गरेका छन् ।
मतदान गरिसकेपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले देशलाई संकटबाट निकास दिन राजनीति गर्ने दल र संसदमा जाने सबै मिलेर काम गर्नुपर्ने बताए । ‘देश अप्ठेरो अवस्थामा छ । राजनीतिक, सामाजिक, आर्थिक स्थिरता छैन । हामी सबै मिलेर देशलाई बचाउनु पर्छ,’ उनले भने ।
सबैलाई मिलाएर संविधान संशोधन गर्नुपर्ने उनको धारणा छ । ‘कांग्रेस मध्यमार्गी पार्टी हो । कांग्रेसकै नेतृत्वमा संविधान सुधार्नु पर्छ । देशलाई निकास दिने पहलको नेतृत्व कांग्रेसले नै गर्छ । अरुले पहल गर्ने कुरै छैन । सबैलाई मिलाएर संविधानमा कति सुधार गर्न सकिन्छ। हामी गर्छौं,’ डा. कोइरालाले भने । यसो हेर्दा निर्वाचनबाट कांग्रेस नै ठूलो पार्टी बन्ने देखेको उनको भनाइ छ ।