सोसल मिडिया
युनिकोड
सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्य पूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति दिन स्थगित गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले बढ्दो तनाव मध्यनजर गर्दै ती देशमा श्रम स्वीकृति दिने कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।
इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेपछि इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य क्याम्पहरूमा आक्रमण गर्दै आएको छ ।
इरानले युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, ओमान, कुवेत लगायत देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूमा आक्रमण थालेको हो । जसले गर्दा त्यहाँ रहेका नेपालीको सुरक्षा चासो बढ्दै गएको छ ।
साथै सम्बन्धित देशमा जान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अलपत्र बसेका मानिसलाई फर्केर आफ्नो घर जान अनुरोध गरिएको छ । बढ्दो तनावबीच ती देशमा सुरक्षा सतर्कता बढेको भन्दै सरकारले विमानस्थलमा रहेका नेपालीलाई घर फर्किन अनुरोध गरेको हो ।