सोसल मिडिया
युनिकोड
बिबिसी वर्ल्ड सर्भिसले बिहीबार सार्वजनिक गरेको नेपालको जेनजी आन्दोलनसम्बन्धी भिडियो विवादमा परेको छ।
फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनको ठ्याक्कै एक साताअघि आएको बिबिसी भिडियोले एउटा पार्टी विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीको पक्ष लिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो।
बिबिसीले सार्वजनिक गरेको भिडियोमा भदौ २३ गतेको नरसंहारबारे विस्तृतमा उल्लेख गरिए पनि भदौ २४ गतेको आगजनी र तोडफोडबारे भिडियो मौन छ।
निर्वाचन आयोगले बिहीबार बेलुका नै बिबिसीले तयार पारेको भिडियो हटाउन पत्राचार गरेको छ।
बिहीबार बसेको आयोगको बैठकले प्रेस काउन्सिल नेपाललाई उक्त भिडियो हटाउन निर्देशन दिनका लागि पत्राचार गर्ने निर्णय गरेको आयोग स्रोतले जानकारी दियो।
चुनावको सम्मुखमा सार्वजनिक गरिएको उक्त भिडियोले मतदाताहरुलाई प्रभावित पार्ने भन्दै आयोगले हटाउनका लागि प्रक्रिया अगाडि बढाएको हो।
पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले सामाजिक सञ्जालमा बिबिसीको भिडियोबारे लेखेका छन्- ‘चुनावको ठ्याक्कै अगाडि परिणाम र ‘पोलिटिकल न्यारेटिभ’ प्रभावित गर्ने गरी भिडियो ल्याएकामा बिबिसीले माफी माग्नुपर्छ।’
उनले विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको रिपोर्ट सार्वजनिक गर्न ढिलासुस्ती गरिरहेको सरकारले अरूको रिपोर्टमा भर पर्नु ठीक नभएको पनि उल्लेख गरेका छन्।
त्यस्तै पत्रकार बबिता बस्नेतले सामाजिक सञ्जालमा बिबिसीको भिडियोले निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मनोबल के होला भन्दै प्रश्न गरेकी छन्। ‘बिबिसीको डकुमेन्ट्री हेरिसकेपछि मनमा आएका धेरै प्रश्नमध्ये एउटा प्रश्न -चुनावको मुखमा यस्तो आएपछि निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मनोबल के होला ?’ उनले लेखेकी छन्।
त्यस्तै सरकारका पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेलले बिबिसीको भिडियो सार्वजनिक भएपछि कार्की आयोगको औचित्य सकिएको दलील गरेका छन्। उनले जेनजी प्रकरणमा दोषी देखिएकाहरूलाई कारबाही गर्न वा बिबिसीमाथि कारबाही गर्न सुशीला कार्की सरकारसँग माग गरेका छन्।
उनले भनेका छन्- तत्कालीन सरकार प्रमुख, गृहमन्त्री र त्ततकालिन ओली सरकारलाई समर्थन जनाउने र सरकारमा सामेल हुने दलका नेतालाई तुरुन्त पक्राउ गर, किनकि याे भिडियाे सार्वजनिक भएपछि गौरीबहादुर कार्की आयाेगकाे औचित्य समाप्त भयाे। त्यसबखत सुरक्षा निकायकाे प्रमुख भएर बसेका मध्ये अझै पदमा हुनेलाई पदबाट हटाएर त्ततकालिन सरकार प्रमुख लगायत सुरक्षासँग सम्बन्धित सबैलाई कानुनकाे कठघरा उभ्याऊ सुशीला कार्की सरकार। हाेइन भने राजीनामा देऊ। वा बिबसीमाथि कारवाही गर। निर्वाचन अगाडि यस्ताे भिडियो आउनु र गौरीबहादुर कार्की आयाेगकाे प्रतिवेदन बुझाउने म्याद थप गर्नु कार्की सरकार तिम्रो असक्षमताको खुलासा (उजागर) हाे।’
तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले भदौ २३ गतेको जेन–जी प्रदर्शनका क्रममा हजारौं निहत्था युवा प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिएको बिबिसी भिडियोमा उल्लेख छ।
भदौ २३ गतेको जेन–जी प्रदर्शनका क्रममा मारिएका १९ जनामध्ये थुप्रै विद्यालय पोशाकमा थिए। घटनामा ठूलो संख्यामा प्रदर्शनकारीहरू घाइते भएका थिए।
बिबिसी वर्ल्ड सर्भिसको टोलीले भदौ २३ गतेको घटनाबारे विस्तृत अनुसन्धान गरेर सार्वजनिक गरेको ४१ मिनेट लामो भिडियोमा ‘पिटर १’ कल साइन प्रयोग गर्ने व्यक्तिले कर्फ्यू लागू भएको १० मिनेटपछि र फिल्डमा रहेका अधिकारीहरूले घातक हतियार प्रयोग गर्न बारम्बार अनुमति मागेपछि आफ्ना अधिकारीहरूलाई ‘आवश्यक बल प्रयोग गर्न’ आदेश दिएको उल्लेख छ।
बिबिसीले परीक्षण गरेको भिडियो प्रमाणले १९ जना पीडितमध्ये सबैभन्दा कान्छा १७ वर्षीय श्रीयम चौलागाईं निहत्था रहेको र मृत्यु हुनुअघि शान्तिपूर्ण रूपमा घटनास्थलबाट बाहिरिने प्रयास गरिरहेको देखिएको छ।
भदौ २३ गतेको घटनामा १९ जना निहत्था युवाहरू मारिएपछि भोलिपल्ट भदौ २४ गतेको आगजनी र तोडफोडमा सिंहदरबारसहित सयौँ सरकारी संरचनाहरू सखाप पारिएका थिए भने २ दिनको घटनामा ७८ जना मारिएका थिए।
यद्यपि बिबिसीको भिडियोमा भदौ २४ गतेको आगजनी र तोडफोडलाई नजरअन्दाज गरेको छ।
फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा ठूलो संख्यामा प्रबुद्ध व्यक्तिहरूले बिबिसीको भिडियो योजनाबद्ध र कुनै निश्चित उद्देश्य पूरा गर्न सार्वजनिक गरिएको तर्क प्रस्तुत गरेका छन्।