पर्सामा हट्यो कर्फ्यु, हटेन निषेधाज्ञा 

सोमबार, फागुन ११, २०८२

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जका विभिन्न क्षेत्रमा सोमबार (फागुन ११) बिहानदेखि लगाएको कर्फ्यु हटाएको छ ।

सोमबार बिहान ९:४५ देखि प्रशासनले वीरगन्जका विभिन्न क्षेत्रमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु लगाएको थियो । तर, परिस्थिति क्रमशः सुधार हुँदै गएको भन्दै कर्फ्यु हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन् ।

कर्फ्यु हटाए पनि परिस्थिति पूर्ण रूपमा सामान्य भइनसकेको भन्दै वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । सोमबार बेलुकी ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको सीडीओ दाहालले जानकारी दिएका छन् ।

उक्त अवधिभर कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार, पूर्वमा बाईपास रोड, पश्चिममा रानीघाट पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा घण्टाघर चोकमा निषेधाज्ञा जारी गरिएको हो ।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  २०:२७
प्रतिक्रिया दिनुहोस्