काठमाडौँ उपत्यका मेयर्स फोरमले बुढानीलकण्ठदेखि गोदावरीसम्म साइकल लेन बनाउने

बिहीबार, फागुन ७, २०८२

काठमाडौँ उपत्यका मेयर्स फोरमले बुढानीलकण्ठदेखि गोदावरीसम्म साइकल लेन बनाउने निर्णय गरेको छ। 

उपत्यकालाई स्मार्ट सिटी बनाउन अन्तर-पालिका जोड्ने साइकल लेन निर्माण गर्ने निर्णय गरिएको मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनयले बताए। बुढानीलकण्ठको शिवपुरी डाँडादेखि काठमाडौँ र ललितपुर महानगर हुँदै गोदावरीको बोटानिकल गार्डेनसम्मको ‘रुट’ तय गरिएको महर्जनले जानकारी दिए। 

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मेयर्स फोरमका अध्यक्ष महर्जनले यसलाई ‘सो-केस प्रोजेक्ट’ का रूपमा अघि बढाउन गुरुयोजना तयार पार्ने निर्णय भएको बताए। सरकारसँग साइकल लेनसम्बन्धी कानुन तत्काल निर्माण गर्न अनुरोध गर्दै यो परियोजना सफल भएपछि अन्य पालिकामा पनि विस्तार गरिने उनको भनाइ छ। 

त्यस्तै, मेयर्स फोरमले काठमाडौँ उपत्यकाको ट्राफिक जाम र कनेक्टिभिटीको समस्या समाधान गर्न ‘मास ट्रान्सपोर्टेसन’ अनिवार्य रहेको निष्कर्ष निकालेको छ। मेट्रो रेल निर्माणमा सङ्घीय सरकारसँग सहकार्य गर्ने पनि बैठकले निर्णय गरेको छ। 

सरकार वा दातृ निकायले तयार पारेका मेट्रो रेलसम्बन्धी डीपीआरलाई कार्यान्वयनमा लैजान फोरमले सहयोग गर्ने बैठमा सहभागी काठमाडौँ महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले जानकारी दिइन्। उपत्यकाको माटो र ऐतिहासिक सम्पदा सुहाउँदो यातायात प्रणाली विकास गर्ने तर मेट्रो रेल बन्न लामो समय लाग्ने भएकाले तत्कालको यातायात समस्या हल गर्न कस्तो व्यवस्था गर्ने भन्नेबारे फोरमले छुट्टै अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने निर्णय भएको डंगोलले बताइन्। 

बैठकमा काठमाडौँ उपत्यकाका मेयर तथा उपमेयरले फोहोरमैला, खानेपानी, वायु प्रदुषण र जलवायु परिवर्तन जस्ता साझा समस्यामा सङ्घीय सरकारसँग सहकार्य र समन्वयको बाटो खुलेको धारणा राखेका थिए। 

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्