सोसल मिडिया
युनिकोड
देशका केही स्थानमा आज (साउन ४) ‘धेरै भारी’ वर्षाको सम्भावना छ । कतिपय स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन दिउँसो देशभर साधारणतया बदली (बादल/वर्षा) रहने महाशाखाको पूर्वानुमान छ । कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भूभागका पनि केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
“कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ,” महाशाखाले भनेको छ, “देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।”
यस दिन राति पनि देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका पनि केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
“गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ,” महाशाखाद्वारा आइतबार बिहान जारी बुलेटिनमा उल्लेख छ, “देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।”
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तर (नेपालनजिक)तिर रहेको महाशाखाले जनाएको छ ।
शनिबार (साउन ३) राति र आइतबार बिहान देशका केही स्थानमा भारी वर्षा भएको छ ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।