आर्थिक बर्षको अन्त्यमा मुख्यसचिवले दिए यस्तो कडा निर्देशन

बुधबार, असार ३२, २०८२

मुख्य सचिव एकनारायण अर्यालले सेवाग्राहीको काममा ढिलासुस्ती नगर्न र अनावश्यक कागजात मागेर दु:ख नदिन निर्देशन दिएका छन्।

नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीको लागि आयोजित गोष्ठीमा मुख्यसचिव अर्यालले कर्मचारीहरूले जिम्मेवारी पन्छ्याउने, निर्णय नगर्ने, ढिलासुस्ती गर्ने र अनावश्यक कागजात माग गरी दु:ख दिने प्रवृत्तिलाई तत्काल रोक्नुपर्ने बताएका हुन्।

‘कार्यसम्पादनका क्रममा ढिलो निर्णय प्रक्रिया वा निर्णय नै नगर्ने प्रवृत्ति,  एउटै कामका लागि विभिन्न अड्डामा धाउनु पर्ने अवस्था र सेवा प्रवाहमा भएको असमानता वा ढिलाईले गर्दा जनमानसमा सरकारप्रति नकारात्मकता बढिरहेको छ। सरकारले सम्पादन गरेका उदाहरणीय कार्यहरूलाई पनि हामीले सर्वसाधारणले बुझ्ने गरी सम्प्रेषण गर्न सकेका छैनौं।’ उनले भने,‘काम गर्ने र नगर्ने कर्मचारीहरूबीच भिन्नता हुनु पर्दछ। कार्य सम्पादनमा अब्बल, ईमानदार र जनमुखी कर्मचारीहरूलाई प्रोत्साहन गर्ने तथा कामचोर र आचरण विपरित काम गर्ने कर्मचारीलाई दण्डित गर्ने कार्य प्रारम्भ गर्नु पर्दछ।’

उनले भ्रष्टाचारका गतिविधिहरूमा जनताको खबरदारी पनि बढेको बताए। ‘मैले निरन्तर भ्रष्टाचार प्रतिको शून्य सहनशीलतामा जोड दिँदै आएको छु। सूचना तथा सञ्चार प्रविधि र सामाजिक सञ्जालमा आम नागरिकको सहज पहुँचले नकारात्मक वा काल्पनिक खवर मात्रै फैलेको छैन, बरु ससाना अनियमितता र भ्रष्टाचारका गतिविधिहरूमा जनताको खवरदारी पनि बढेको छ। त्यसैले पनि हामीले स-साना गल्ती गर्ने पनि छुट छैन।’

समृद्ध नेपाल र सुखी नेपाली”को सपना साकार पार्ने एकमात्र साध्य सुशासन भएको उनको भनाई छ। ‘जति विकासका लागि सुशासनको आवश्यकता छ त्यति नै सुशासनका लागि विकासको ढाँचामा परिवर्तन गर्नु पनि जरुरी छ।’ उनले भने,  ‘नीति तर्जुमा र कानूनको मस्यौदा गर्नेदेखि स्वीकृत नीति र कानूनलाई कार्यान्वयन गर्न स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रको महत्वपूर्ण भूमिका रहने भएकाले प्रशासनिक नेतृत्वमा  सरकारका नीति र कानून कार्यान्वयन गर्नमा हाम्रो साझा प्रतिबद्धता हुनुपर्दछ जसले कम भन्दा कम साधन स्रोतबाट बढी भन्दा बढी उत्पादन र नतिजा हासिल गर्न सकियोस्।’

पछिल्ला दिनमा राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रका बीचमा विश्वासको संकट उत्पन्न भएको उनको भनाई छ। यसबाट विकास निर्माणको कार्य र सेवा प्रवाहमा नकारात्मक असर पर्नुका साथै शासनप्रति जनताको आस्था गुम्न जाने भएकाले यसतर्फ सबै गम्भीर हुनुपर्ने अर्यालको तर्क छ। 

“समृद्ध नेपाल सुखी नेपाली”को दीर्घकालीन लक्ष्य हासिल गर्न, जनविश्वासमा अभिवृद्धि गर्न र यो देशको गरिमा बढाउन हातेमालो गरेर भावी पुस्ताले हामीप्रति गर्व गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए। 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्