Dashain Banner
Dashain Banner

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, कता-कता पर्छ पानी ?

आइतबार, जेठ ६, २०८१

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ।

विभागका अनुसार अहिले कोशी प्रदेशको केही स्थान र बागमती प्रदेशको पहाडी भूभागको केही भागमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

विभागले आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ।

कोशी र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले अहिले बिहान छ बजे जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ.

मधेस र लुम्बिनी प्रदेशलगायत कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिउँ पर्नसक्ने छ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको पहाडी भागका केही भेगका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागले देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

काठमाडौं उपत्यकाको अहिलेको तापक्रम २० डिग्री सेल्सियस छ। आज यहाँको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने विभागको पूर्वानुमान छ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्