सोसल मिडिया
युनिकोड
नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले शनिबार विज्ञप्ति प्रकाशित गरी समाचार लेखेकै कारण श्रेष्ठलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका हुन्।
श्रेष्ठलाई सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले साइबर व्यूरोमा दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको महासंघले जनाएको छ।
पन्तले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा सो साप्ताहिकमा समाचार प्रकाशित भएको थियो। सोही विषयमा परेको उजुरीलाई लिएर एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली श्रेष्ठलाई आज ललितपुरको नख्खुस्थित उनको निवासबाट पक्राउ गरेको छ।
‘समाचारमा चित्त नबुझेका विषय भए प्रचलित र स्थापित विधिअनुरुप समाधान नखोजी साइबार व्यूरोमार्फत पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधानविरुद्ध रहेको महासंघको ठहर छ’ महासंघले भनेको छ, ‘यो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई खिल्ली उडाउने काम गरेको महासंघको बुझाइ छ।’ प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्य सत्ताको आडमा भएको यो स्वेच्छाचारी शैलीप्रति महासंघदे खेद प्रकट गर्दै कडा भर्त्सना गरेको छ। विज्ञप्तिमा महासंघले प्रेसविरोधी यस्ता व्यवहार सच्याउन तथा पत्रकार श्रेष्ठलाई बिनाशर्त तत्काल रिहा गर्न सरकारको ध्यानाकर्षण गराउँदै समाचारको विषय भए सम्बन्धित निकायमार्फत समाधान खोज्न सम्वद्ध पक्षलाई सचेत गराएको छ। साथै, आफ्नो क्षेत्राधिकारको स्वामित्वको विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह समेत गरेको छ।