सोसल मिडिया
युनिकोड
असार १४ को छेको पारेर विद्यादेवी भण्डारीले केही घोषणा गर्ने अन्दाज प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिले नै गरेका थिए। नभन्दै, उनको अन्दाज ठ्याक्कै पुग्यो पनि। शनिबार स्पेन जाने कार्यतालिकाबीच उनी मदन भण्डारीको ७४ औँ जन्मजयन्ती कार्यक्रममा प्रमुख अतिथितिका रूपमा उपस्थित थिए । मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमकी विशेष अतिथि रहेकी भण्डारीले एमाले अध्यक्ष ओलीलाई आफ्ना कुरा सुनेर जान अनुरोध गरेकी थिइन् ।
भण्डारीको अनुरोधबारे ओलीले मञ्चमा भने, ‘समय रहेन र बीचमै बोल्न खोजेको हुनाले सम्माननीय पूर्वराष्ट्रपति ज्यूले मेरा कुरा सुन्नुहोस् न भन्दै हुनुहुन्थ्यो । तपाईं राम्रै बोल्नुहुन्छ, मिठो बोल्नुहुन्छ । मलाई थाहा छ के बोल्नुहुन्छ । म सुनेर बसिरहन सक्दिँन मलाई धेरै हतार भएको हुनाले, म विदा हुन चाहान्छु ।’
ओलीले भनेझै एमाले नेतृ भण्डारीको भाषण शैली मिठो थियो । भाषणको सन्देश भने तीखो थियो । मदन भण्डारीको ७४ औँ जन्यजयन्तीको अवसर पारेर भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने औपचारिक घोषणा गरिन् । राष्ट्रपतिको भूमिकाबाट अलग भएसँगै सक्रिय राजनीतिमा फर्किने उद्देश्यका साथ पार्टी सदस्यता नवीकरण गरेको उनले सुनाइन् । ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेकी छु । अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’
राष्ट्रियसभा गृहको माहौल उनी राजनीतिमा फर्किने घोषणा सुन्न आतुर थियो । घोषणालगत्तै कार्यकर्ताहरू निकै उत्साहित हुँदै भण्डारीको पक्षमा हुटिङ गरे ।
सक्रिय राजनीतिमा फर्किन पाउँदाको गर्व, सिधा र स्पस्ट रूपमा घोषणा गरेकी भण्डारीले पार्टीको नेतृत्व लिन आफू सक्षम रहेको सन्देश भने घुमाउरो शैलीमा दिइन् । विद्यार्थी राजनीतिका क्रममा पञ्चायतविरूद्ध लडेको विगत, संसदीय मोर्चामा सक्रिय रहेको पृष्ठभूमि, महिला आन्दोलनमा निर्वाह गरेको भूमिका, पार्टी उपाध्यक्षको हैसियत र राष्ट्रपतिको सर्वोच्चमा पदमा विराजमानको विगतले आफूलाई सक्रिय राजनीति तथा नेतृत्वका लागि सक्षम बनाएको उनको भनाइ छ ।
‘पार्टीले मलाई विभिन्न जिम्मेवारी दिने र संसदीय निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेपछि राजनीतिक क्षेत्रमा मेरो सक्रियता बढ्दै गयो । संसदीय मोर्चा र पार्टीको जिम्मेवारी सँगै बहन गर्नुपर्ने अवस्था सिर्जना भयो । नेकपा (एमाले) को उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेकै परिवेशमा २०७२ सालमा राष्ट्रपतिका लागि हुने निर्वाचनमा पार्टीले मलाई उम्मेदवारको रूपमा प्रस्तुत गर्यो’, उनले भनिन्, ‘म राष्ट्रपतिमा निर्वाचित भएँ, देश र जनताको सेवामा फरक ढंगले क्रियाशील हुनुपर्ने अवस्था बन्यो ।’
सक्रिय राजनीतिमा फर्किन भण्डारीले दिएका आधार
पार्टीको सक्रिय राजनीतिमा आउनुको अन्य कारणबारे भण्डारीले विभिन्न तर्क पनि दिएकी छिन् । जनताको बहुदलीय जनवादलाई परिस्कृत गर्न तथा सामाजिक न्याय र समानताका आधारमा समाजवाद निर्माण गरी जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउने लक्ष्यसहित आफू सक्रिय राजनीतिमा फर्किएको उनको भनाइ छ । सामाजिक न्याय, समानता र समृद्ध सामाज निर्माण गर्ने मदन भण्डारीको चाहानालाई साकार पार्न थप सक्रिय हुने घोषणामा उनले भनेकी छिन् । ‘सामाजिक न्याय, समानता र समृद्ध समाज निर्माण गर्ने उहाँको दूरदृष्टिलाई साकार पार्न हामी सबैले उहाँको नवीन विचारलाई व्यवहारमा उतार्ने प्रतिबद्धतासहितको थप सक्रियता प्रदर्शन गर्नै पर्दछ,’ उनको भनाइ छ ।
जनताको बहुदलीय जनवाद (जबज) लाई परिष्कृत गर्ने सवालमा उनले भनेकी छिन्, ‘सुशासनप्रति अधिक आस्था र जनमुखी व्यवहार जबजका आगामी यात्रा हुनुपर्नेछ ।’
राष्ट्रपतिको कार्यकालबाट विदा भएर विभिन्न क्षेत्र र भूगोलका जनतासँग छलफल गर्दा प्राप्त सन्देशका आधारमा पनि आफू राजनीतिमा फर्किएको उनले बताएकी छिन् । विभिन्न भागका जनता र विविध क्षेत्रका विशेषज्ञसँग सामाजिक-आर्थिक विकासका बारेमा जनतासँग अन्तर्क्रिया गर्दाका सुझावका आधारमा आफू सक्रिय राजनीतिमा फर्किएको उनको प्रस्टीकरण छ । ‘मेरो छलफलका आधारमा निस्केको निचोड भनेको सुखी जनता र समृद्ध राष्ट्र निमार्णको गहन दायित्वलाई पूरा गर्न अग्रसर हुनैपर्दछ भन्ने हो,’ उनले भनेकी छिन् ।
भण्डारीलाई भाँजो हाल्नेलाई ईश्वरले खन्याए भुत्भुते
भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा रोक्नका लागि विभिन्न चाल पार्टीभित्र भइरहेका छन् । उनको सदस्यता नवीकरण होल्ड भइरहेको छ । विधानमै व्यवस्था गरी पूर्वराष्ट्रपतिलाई पार्टीको राजनीतिमा रोक्ने बहस पनि एमालेभित्र भइरहेको छ । शनिबार सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी भण्डारीले पार्टीपंक्तिबाट विगतमाझै आफूले फेरि पनि माया, विश्वास र सहयोग पाउने टिप्पणी गरिन् ।
भण्डारीलाई सक्रिय राजनीतिमा रोक्ने प्रयत्नस्वरूप भइरहेका बहस र कदमको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कडा शब्दमै प्रतिवाद गरे । एमालेले विधानमा राखेको ७० वर्षे उमेरहद र २ कार्यकाल लहडको विषय नभएको बताए । यी व्यवस्थालाई तलमाथि गर्नेकुरा स्वीकार्य नहुने चेतावनी उनले दिए । ‘दशौं महाधिवेशन र त्यसअघिको विधान अधिवेशनले छलफल गरेर पारित गरेका दस्तावेज हामीसँगै छन् । महाधिवेशनले पारित गरेको कार्यकाल, उमेरका पनि कुरा छन्, नियन्त्रण र सन्तुलनका कुरा पनि राख्यौँ । त्यो राखेको भनेको कुनै झोँकमा राखेको थिएन, त्यो सुविचारित ढंगले लामो समयदेखि तीन दशकदेखिको बहसपछि राखिएको हो । यसलाई तलमाथि गर्ने कुरा स्वीकार्य हुँदैन ।’
पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने तर्कको पनि उनले कडा शैलीमा प्रतिवाद गरे । ‘पूर्वराष्ट्रपति भण्डारी राजनीतिक व्यक्ति हो । उहाँ राजनीतिमा फर्किन खोज्दा तातो तावामा हाम फालेजस्तो उफ्रिन कुनै जरूरी छैन,’ उनले भने । भण्डारीलाई तत्कालै सल्लाहमा उपयुक्त जिम्मेवारी तोकिनुपर्ने उनको भनाइ छ ।
एमाले अध्यक्ष ओली, ‘ईश्वर पोखरेलले पनि कहिल्यै नराम्रो नबोल्ने’ भन्दै हलबाट निस्किएका थिए । उनले सम्बोधनका क्रममा उक्त कार्यक्रम ‘बारूद’ नै पड्किने जसरी हल्ला भए पनि त्यस्तो केही नहुने र एमाले एकढिक्का हुनेमा आफू ढुक्क रहेको भन्दै बाहिरिएका थिए । तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको भण्डारीविरोधी गतिविधिको प्रतिवाद शैली ‘बारुद’पड्काएकै स्वरूपमा छ ।
उत्साहदेखि ध्रुवीकरण
एमालेको सक्रिय राजनीतिमा फर्किने भण्डारीको घोषणाप्रति नेताहरूले उत्साहदेखि ध्रुवीकरण सुरु हुनेसम्मका विचार प्रकट गरेका छन् । भण्डारी अनुभवी र परिपक्व नेतृ रहेकाले एमाले राजनीतिमा उनको पुनरागमनले पार्टीलाई बलियो बनाउने र कार्यकर्तापंक्तिलाई उत्साही बनाउने कतिपय नेताहरूको विश्वास छ । एमाले नेतृ विमला राई पौडेल भण्डारीको पुनरागमनले दललाई बलियो बनाउने बताउँछिन् । ‘उहाँको अनुभव, राजनीतिक परिपक्वता र दृष्टीकोणले एमालेलाई परिष्कृत र बलियो बनाउनेछ । उपाध्यक्ष भइसकेको व्यक्तिलाई साधारण सदस्य मात्रै सीमित पक्कै हुनुहुने छैन । उहाँलाई सल्लाहमै उपयुक्त भूमिका तोकिने विश्वास छ,’ उनले भनिन् ।
भण्डारीको पुनरागमनको तयारीसँगै एमालेमा ध्रुवीकरणको संकेत देखा परिसकेको थियो । ओलीलाई निकट रहेर सहयोग गरेका रघुवीर महासेठ, गोकुल बास्कोटालगायतका नेता भण्डारीलाई सहयोग गर्न थालिसकेका थिए । १० औँ महाधिवेशनपछि एमालेमा ओली सर्वैसर्वा हुँदा नेताहरूले ओलीसमक्ष गुनासोसमेत गर्नसक्ने अवस्था थिएन ।
भण्डारी सक्रिय राजनीतिमा आउने घोषणा गरेकै दिन ईश्वर पोखरेलले भण्डारीविरूद्ध पार्टीमा भएको गतिविधिको चर्को प्रतिवाद गर्दै नेतृत्वबारे पार्टीमा बोल्न पाउनुपर्ने उल्लेख गरेका छन् । नेतृत्वको व्यक्तिगत र कार्यशैलीको आलोचना गर्दा नेताहरू कारबाहीमा परेका दृष्टान्त एमालेमा छ । ओलीको कार्यशैली चित्त नबुझाउनेहरूले आश्रय खोजिरहेका बखत भण्डारीको सक्रिय राजनीतिको घोषणाले पार्टीमा ध्रुवीकरण बढाउने केन्द्रीय सदस्य झपट रावल बताउँछन् । ‘एमालेभित्र उकुसमुकुस रहेको समयमा पार्टीमा उनको आगमनले अब ध्रुवीकरण बढाउनेछ,’ उनले भने ।
श्रीमान् मदन भण्डारीको निधनपछि राजनीतिक उचाइ पाए पनि भण्डारी बिहे हुनुअघि नै २०३५ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । उनी २०३७ सालमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् । २०३९ सालमा बिहे भएको थियो । त्यसपछि उनी सक्रिय राजनीतिबाट टाढा रहिन् । ‘मदनको सक्रिय राजनीतिमा सहयोगका लागि पारिवारिक भूमिका पूरा गर्न राजनीतिबाट टाढिएँ,’ उनले भनेकी छिन् ।
२०५० जेठ ३ गते मदन भण्डारीको जिप दुर्घटनामा निधन भएपछि रिक्त भएको काठमाडौं १ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । त्यसपछि उनी २०५४ मा वातावरण तथा जनसंख्यामन्त्री र २०६६ मा रक्षामन्त्री बनिन् । २०७२ देखि २०७९ सम्म दुई कार्यकाल राष्ट्रपति भइन् ।
उनी २०५४ मा एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् भने २०६५ सालमा बुटवलमा भएको आठौँ र काठमाडौँमा भएको नवौँ महाधिवेशनबाट पार्टी उपाध्यक्षमा निर्वाचित भएकी हुन् । राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले पार्टीको उपाध्यक्ष पदसँगै पार्टीको सदस्यता नवीकरण गरेकी थिइनन् ।
पूर्वराष्ट्रपति रहेकी भण्डारीलाई सक्रिय राजनीतिमा आउन बन्देज लगाउने संवैधानिक र कानुनी कुनै प्रावधान छैन । उनी सक्रिय राजनीतिमा फर्किने तयारी गरेसँगै उनीमाथि नैतिक प्रश्न उठाउँदै आलोचना भएको थियो । राष्ट्रपति पदको गरिमालाई कायम राख्न उनले राजनीतिबाट विश्राम लिनुपर्ने सुझाव विभिन्न तह-तप्काबाट दिइएको थियो । यसको एकमुष्ट जवाफमा भण्डारीले मदन भण्डारीको उक्ति स्मरण गर्दै भनेकी छिन्-‘राजनीतिमा थकाइ भन्ने हुँदैन ।’