अवकाश नपाउँदै सचिवबाट राजीनामा दिएर प्रमुख निर्वाचन आयुक्त बनेका थपलिया गए घर

शनिबार, वैशाख ६, २०८२

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रबार बिदाइ गरिएको छ । आयोगले शुक्रबार एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो । 

आयोगको प्रमुख निर्वाचन आयुक्त थपलिया नेपालको संविधानको धारा २४५ को उपधारा (३) बमोजिमको ६ वर्षको पदावधि पूरा गरी यही वैशाख ६ गतेदेखि निवृत्त हुँदै छन् ।

बिदाइ समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको ६ वर्षको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सृजनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताए । उनले भने, “यस अवधिमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका आवधिक निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्य निर्वाचन र विभिन्न उपनिर्वाचन स्वच्छ र स्वतन्त्र रूपमा सम्पन्न भई जनमतको स्वःस्फुर्त अभिव्यक्तिमार्फत लोकतन्त्रको संस्थागत सुदृढीकरणमा योगदान पुगेको छ ।”

साथै उनले स्वतन्त्रताको उद्घोषसँगै सुरू भएको र समयले परिपक्व बनाउँदै लगेको नेपालको निर्वाचन जनताको अभिमतले लेखिएको लोकतन्त्रको महागाथा भएको बताए । “निर्वाचन आयोगले झन्डै ६ दशकमा भोगेको राजनीतिक व्यवस्था, निर्वाचन प्रणाली र निर्वाचन व्यवस्थापन प्रक्रियाका उतारचढावपूर्ण यात्राले निर्वाचन लोकतन्त्रको आत्मा हो र नागरिक सहभागिता त्यसको प्राण हो भन्ने स्पष्ट सन्देश प्रवाह गरेको छ,” उनले भने । थपलिया सचिव बाट अवकाश हुनु एक महिना अघि राजीनामा दिएर प्रमुख निर्वाचन आयुक्त भएका थिए। 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्