Dashain Banner
Dashain Banner

शिक्षक आन्दोलनको आज १४औँ दिन, माग पूरा नभई विद्यालय नफर्कने अडान

मंगलबार, वैशाख २, २०८२

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक काठमाडौंमा सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासंघले घोषणा गरेको आमशैक्षिक हडतालअनुरूप उनीहरू माग पूरा नभई विद्यालय नफर्कने अडानमा छन् ।

शिक्षकको आन्दोलन आज (वैशाख २) १४औँ दिन पनि जारी रहने भएको छ । मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म प्रदर्शन गरिने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

काठमाडौंको माइतीघरमा भेला भएर उनीहरू नयाँ बानेश्वर जानेछन् । बानेश्वरमा विरोधसभा गरिने उनले बताए ।

उनले शिक्षकलाई महासंघबाट निषेध गरिएका काममा संलग्न नहुन आग्रह गरेका छन् । “आन्दोलनमा आउन बाँकी साथी आन्दोलनमा अनिवार्य जोडिनुहोला । महासंघबाट निषेध गरिएका काममा संलग्न नहुनु होला,” मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “जिल्ला जिल्लामा निरीक्षण अनुगमनमा गोप्य रूपमा साथीहरू खटिनुभएको छ ।”

आन्दोलनमा सबै शिक्षक सहभागी भए/नभएको गोप्य रूपमा अनुगमन गरिएको उनको भनाइ छ ।

आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताएका छन् । उपलब्धिमा सबै शिक्षकको बराबरी हिस्सेदारी हुने उनले उल्लेख गरेका छन् ।

“हामीले मागेको निकास ननिस्केसम्म आन्दोलनमा रहिरहन्छौँ । यो आन्दोलन सबैको हो । उपलब्धिमा पनि सबैको बराबरी हिस्सेदारी हुने हो,” सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “त्यसैले सहभागिता तथा योगदानमा पनि बराबरी हिस्सेदारी आवश्यक छ ।”

यही वैशाख ११ गतेदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा केन्द्राध्यक्ष एवं निरीक्षकलगायत कुनै काममा संलग्न नहुन महासंघले सबै प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई आग्रह गरेको छ ।

उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै काममा संलग्न नहुन शिक्षक र कर्मचारीमा महासंघले अपिल गरेको छ ।

गएको चैत २० गतेदेखि शिक्षक काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । महासंघले चैत २५ देखि आमशैक्षिक हडताल घोषणा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्