सोसल मिडिया
युनिकोड
देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । वाग्मती प्रदेशलगायत विभिन्न क्षेत्रमा वर्षा भइरहेको हो ।
बिहान गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा पूर्णतया बदली भएर वर्षा भइरहेको छ । यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् हरिप्रसाद दाहालले बताए ।
उनका अनुसार वाग्मती प्रदेशको सिन्धुपाल्चोकका केही स्थानमा पानी पर्न सुरु भएको छ । बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो सुदूरपश्मि र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा पूर्णदेखि आंशिक बदली हुनेछ ।
काठमाडौंमा आज वर्षाको सम्भावना छ । “११/१२ बजेपछि केही समय काठमाडौंका हल्का वर्षाको सम्भावना छ,” मौसमविद् दाहालले भने, “काठमाडौंका सबै स्थानमा हुँदैन, केही स्थानमा हुन्छ । लामो समय निरन्तर वर्षा भने हुँदैन ।”
आज राति पनि केही प्रदेशमा वर्षाको सम्भावना छ । “राति कोसी र मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” मौसमविद् दाहालले भने, “बाँकी प्रदेशका पहाडी भूभागमा पनि वर्षाको सम्भावना छ ।”
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।