Dashain Banner
Dashain Banner

अवैधरुपमा अमेरिकामा बसेका ११ नेपाली काठमाडौँ झारिए

बुधबार, फागुन २१, २०८१

अवैधरुपमा बसेका नेपालीहरूलाई अमेरिकाले देश निकाला गरेको छ। अवैधरुपमा बसेका नेपालीहरूलाई लिएर आएको चार्टर जहाज काठमाडौं ओर्लिएको छ। 

अमेरिकाको अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीहरूलाई लिएर आएको अमेरिकी चार्टर जहाज आज बिहान ९:५५ बजे काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा अवतरण भएको हो। 

निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए।

अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलो पटक चार्टर जहाज काठमाडौं आएको हो। स्रोतका अनुसार चार्टर जहाजमार्फत नेपाल फर्काइनेहरूमा ११ नेपाली रहेका छन्।

अमेरिकामा डोनाल्ड ट्रम्पले गत जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति उनी आक्रामक बनेका छन्। त्यस्ता आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ।

यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई)ले अवैध नेपालीहरूलाई विभिन्न एयरलायन्सबाट नेपाल फर्काउने गरेको थियो। इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टको रिपोर्टअनुसार अमेरिकामा अवैधरूपमा बसोबास गर्ने नेपालीहरू बढी निशानामा पर्दै आएका छन्।
 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्