Dashain Banner
Dashain Banner

वडा अध्यक्षले वडा सचिवलाई तीन झापट हाने, जनप्रतिनिधि किन कुट्छन् कर्मचारी ?

सोमबार, फागुन ५, २०८१

तनहुँको बन्दिपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङले वडा सचिवलाई निर्घात ढंगले हात हालेका छन्। कार्यक्रमको बिल स्वीकृत नगरेको निहुँमा उनले वडासचिव नवीन भुसालको घाँटी अठ्याउँदै चड्कन हानेर अमानवीय हर्कत गरेका हुन्। 

माघमा भएको वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले कुटपिट गरेको बुझिएको छ। वडासचिवलाई कुटेपछि फरार भएका गुरुङ घटनाको आठ घण्टापछि पक्राउ परेका थिए ।

वडाध्यक्षले नौ माघमा सञ्चालन भएको वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न भनेका थिए । जवाफमा सचिव भुसालले कार्यक्रम स्वीकृत नगरिएकाले र शीर्षक नखुलाई आएकाले विल स्वीकृत गर्न नसक्ने बताएका थिए । त्यसपछि जंगिएका वडाध्यक्ष गुरुङले ‘ठूलो कुरा गर्छस्, मलाई चिनेको छैनस्, मैले भनेपछि बिल पास गर्न के हो गाह्रो ?’ भन्दै धम्क्याएका थिए ।

तेस्रो वडाअध्यक्ष कप भलिबल प्रतियोगिताको अनुमानित लागत तयार नगरिएकोले शीर्षक र खर्च खुलाएर ल्याउन वडासचिव भुसालले अध्यक्षलाई आग्रह गरे । यत्तिकैमा वडाध्यक्ष गुरुङले वडासचिवको घाँटी अठ्याएर तीन झापड हानेको प्रत्येक्षदर्शी एक कर्मचारीले बताए ।

वडासचिवको घाँटी र गालामा निल डाम छ । उनलाई बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचारपछि भरतपुर अस्पताल रिफर गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए ।

अध्यक्ष गुरूङले आक्रमण गरेपछि सचिव भुसाल फुत्किएर भाग्न सफल भएको त्यही वडाका कर्मचारीले बताएका छन् । सचिव र गुरुङ सम्बन्ध पहिल्यै बाट राम्रो नभएको बुझिएको छ। 

कुटपिटबाट घाइते भएका सचिव भुसालको बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका लागि भरतपुर लगिएको प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए । पछिल्लो समय जनप्रतिनिधि बाटै दिनानुदिन कर्मचारी असुरक्षित बनिरहेका छन्।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्