Dashain Banner
Dashain Banner

हलेसी बजारमा भएको आगलागीबाट सात करोड ३० लाख रुपैयाँ बराबरको क्षति

सोमबार, फागुन ५, २०८१

खोटाङको हलेसी बजारमा भएको आगलागीबाट सात करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ । ग्यास लिक हुँदा सुरु भएको आगोले सात करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ । 

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसीबजारमा आइतबार साँझ ७ बजेबाट आगलागी सुरु भएको थियो । पदमशेर राईको हार्डवयर पसलमा राखिएको खाना पकाउने ग्यास लिक हुँदा आगलागी सुरु भएको थियो ।

काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा खाना पकाउने ग्यास लिक भएर सुरु भएको आगोले भीषणरुप लिएको थियो । आगलागीबाट पदमशेरको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । 

घरको दोस्रो तलामा रहेको निर्धनउत्थान लघुवित्त संस्थाको कार्यालय समेत जलेको छ । 

नजिकै रहेको ऐराख राईको न्युकल्याण होटेल सञ्चालन भइरहेको चारतले पक्की घर र पछाडिसँगै रहेको निजकै काठको दुईतले घरमा पूर्ण क्षति हुँदा दुई करोड ५० लाख क्षति भएको छ ।

प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटेलको फलामे ट्रसले बनेको एकतले भान्सा घर र पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख र भरणसेर राईको पारुहाङ होटेलको चारतले पक्की घरको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा ५० लाखको क्षति भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्