Dashain Banner
Dashain Banner

दर्शालु भक्तजनलाई पशुपतिनाथको छाया दर्शन गराईयो

बुधबार, माघ ३०, २०८१

प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छाया दर्शन पर्व मंगलबार पशुपति क्षेत्रमा विशेष रुपमा मनाइएको छ । 

सूर्य उत्तरायणतर्फ लागेर दिन लामा र न्याना हुन थालेर हिउँद ओरालो लाग्दा यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथ मन्दिरमा विशिष्ट पूजाअर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिवलिंगको छायादर्शन गराउने चलन छ । 

पशुपति क्षेत्र विकास कोषको आयोजनामा स्थानीय नेवा समुदायका भक्तजनले पशुपतिनाथको शिवलिंगको पूजा गर्ने र नयाँ मुकुट पहिराउने चलन छ ।

यसरी पूजा सकिएपछि मन्दिरको दक्षिणपट्टिको चोकमा जल भरेर शिवलिंगको छाया प्रतिविम्बित गराई त्यस स्थानमा आउने भक्तजन तथा तीर्थयात्रीलाई दर्शनको प्रबन्ध मिलाइन्छ ।

यस दिन पशुपतिमा विशेष रहन्छ । आराध्यदेवको प्रतिमाको छाया हेर्न भक्तजनको घुइँचो लाग्छ । यसरी छाया दिउँसोदेखि साँझको आरती अघिसम्म हेर्न पाइन्छ । 

हजारौँ भक्तजनले लाम लागेर पशुपतिनाथको छाया दर्शन गरेको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले जानकारी दिए । 

सनातन सभ्यताको केन्द्रबिन्दुका रुपमा इतिहास बोकेको विश्वभरिका हिन्दूको आराध्यदेव पशुपतिनाथमा छाया दर्शन हेर्न हजारौँ भक्तजन भेला भएका थिए । 

पशुपति क्षेत्र देवपतन, जयबागेश्वरी, गौरीघाट, चाबहिल, कुटुम्वाहल, सिफल, गौशाला, पिंगलास्थान र श्लेष्मान्तक वन आसपासको विशाल क्षेत्रमा फैलिएको छ । 

सनातनदेखि पवित्र वाग्मती नदीको प्रवाहले सिञ्चित पाशुपत क्षेत्रभित्र करिब ४९२ साना ठूला विभिन्न शैलीका मन्दिर, सत्तल, ढुंगेधारा, देवालय, मठलगायत करिब एक हजार शिवलिंग रहेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्