Dashain Banner
Dashain Banner

शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलन चर्काउने

मंगलबार, माघ ८, २०८१

यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलनको तयारी गरेको छ । सरकार र संघबीच यसअघि भएका सहमति पूरा गर्न चाँडो ऐन ल्याउनुपर्नेमा विलम्ब भएको महासंघले जनाएको छ ।

संघका पदाधिकारीले सोमबार (हिजो) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई भेटेर यसबारे ध्यानाकर्षणपत्र बुझाएका थिए । “विद्यालय शिक्षा ऐन चाँडोभन्दा चाँडो जारी हुनुपर्‍यो भन्ने हाम्रो एकसूत्रीय माग हो । यही सन्दर्भमा हिजो शिक्षामन्त्रीलाई भेटेका थियौँ । प्रधानमन्त्रीलाई पनि छिट्टै भेट्दै छौँ,” महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।

विगतमा भएका सहमति ऐनमार्फत मात्र सम्बोधन हुने उनले बताए । ऐन संसदीय प्रक्रियामा रहेका बेला अध्यादेश जारी हुनु शिक्षकको भावनाविपरीत रहेको संघको ठहर छ । “शिक्षक कर्मचारीमैत्री ऐन जारी गराउन हामी आन्दोलनमा जाने निश्चयमा पुगेका छौँ,” ध्यानाकर्षणपत्रमा लेखिएको छ ।

यही माग १८ र १९ गते हुने शिक्षकको राष्ट्रिय भेलाले आन्दोलनको दिन र कार्यक्रम निश्चित गर्ने अध्यक्ष सुवेदीले जानकारी दिए । हाल विद्यालय शिक्षा ऐन प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलका क्रममा छ ।teacher-mahasang-1737457387.jpg

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्