असफल व्यक्ति खोजी-खोजी अर्थमन्त्री पुनले यसरी बोकाउँदैछन् भारी

बिहीबार, वैशाख २७, २०८१

एउटा सस्था राम्रो संग हाँक्न नसकेर आत्मसमर्पण नै गर्न पुगेका असफल व्यक्तिलाई झन् ओजनदार सस्थाको तालाचाबी दिनु भएको उ प्रति अन्याय गर्नु हो। सक्दै नसक्ने भारी बोक्न तम्सिने र तैलें सक्छस् बोक् भनेर बोकाउने दुवै प्रथम दृष्टीमै असफल हुन्। 

हो, अहिले त्यस्तै पार नलाग्ने काम गरेर अवगालको भारी बोक्न अर्थमन्त्री वर्षमान पुन तम्तयार भएका छन्। बिचमा कुनै सूत्रले काम गरे अर्कै कुरा नत्र पुनले अवगालको भारी भने सन्धी बोक्नुपर्ने गरिकी निर्णय गर्दैछन्। 

त्यो निर्णय अरू केही नभएर चार महिनादेखि नेतृत्वविहीन भएको नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलाई ल्याउने तयारी गर्नु नै हो। 

पुनले माओवादी केन्द्र निकट मानिने कार्कीलाई अध्यक्ष बनाउने तयारी गरे पनि निर्णयक्षमता कमजोर रहेका र विवादमा परेका व्यक्तिलाई ल्याउन नहुने आवाज उठेको छ। कार्कीले अर्थ मन्त्रालयकै निर्देशन कार्यान्वयन गर्न सकेका छैनन् भने नेप्से पुनर्संरचना गर्ने प्रतिबद्धता जनाए पनि कुनै प्रगती भएको छैन। कार्की नेप्सेका असफल सीईओ हुन्।

पुँजीबजार नियमन गर्ने निकाय धितोपत्र बोर्ड नेतृत्वविहीन भएको चार महिना नाघिसकेको छ। गत पुस तेस्रो सातादेखि नेतृत्वविहीन धितोपत्र बोर्डमा रिक्त पदपूर्तिको लागि प्रक्रिया अघि बढे पनि स्वार्थसमूहले खेल्न थालेपछि अन्ततः अड्किन पुगेको थियो। 

नयाँ अध्यक्ष नियुक्तिका लागि गत फागुन ३० गतेलाई अन्तिम म्याद राखी आवेदन माग भएको थियो। सरकारद्वारा गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले धितोपत्र बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त आह्वान गरेको थियो।

त्यसमा १९ जनाले इच्छा देखाएकामा ५ जना संक्षिप्त सूचीमा परेका छन्। यसबाट पनि ३ जनाको नाम अर्थमन्त्रीमार्फत मन्त्रिपरिषदमा सिफारिस भइसक्नुपर्ने थियो। तर ५ जनाको अन्तर्वार्ता प्रक्रिया रोकिएको एक महिना बितिसकेको छ।

अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक फोरममै केही योग्य व्यक्ति छुटेकाले प्रक्रिया रोकिएको संकेत गरेका थिए। 

छनोट हुने ५ जनामा हालका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ, धितोपत्र बोर्डमै कार्यकारी निर्देशक रहेका मुक्तिनाथ श्रेष्ठ, विभिन्न वित्तीय संस्थामा सञ्चालक रहेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डकै हाल निमित्त अध्यक्ष रहेका नवराज अधिकारी छन्।

असफल कार्कीलाई नै च्याप्ने 

स्रोतहरूका अनुसार मन्त्री पुनले पहिलो नम्बरमा सिफारिस गरिएका कृष्णबहादुर कार्कीलाई अध्यक्ष बनाउन चाहेका छन्। 

कार्की अहिले नेप्सेका सीईओको रुपमा कार्यरत छन्। उनी नेकपा माओवादीनिकट भएको कारण नै नेप्सेको सीईओ भएको आरोप यसअघि नै लागेको थियो। अहिले माओवादी नेतृत्वको सरकार र अर्थमन्त्री समेत माओवादीबाटै भएको अवस्थामा कार्कीलाई जिम्मेवारी सुम्पिन लागेको स्रोतको भनाइ छ। 

तर कार्की योजना कार्यान्वयन गर्न असफल मानिन्छन् भने यसअघि विभिन्न परियोजनामा विवादमा पनि फसेका व्यक्ति हुन्। कार्की तिनै व्यक्ति हुन् जसले तालुकदार मन्त्रालयकै निर्देशन कार्यान्वयन गर्न सकेका छैनन्। नेप्से पुनर्संरचना गर्नुपर्छ भनेर अर्थ मन्त्रालयले उनकै कार्यकालमा दुई पटक प्रतिवेदन तयार गरेको छ। तर त्यसमा न कार्कीले कुनै कार्यक्रम अघि सार्न सकेका छन्, न त अहिले भएको नेप्से व्यवस्थापनमा नयाँपन दिन सकेका छन्। 

नयाँ खेल 
धितोपत्र बोर्डलाई नेपाल राष्ट्र बैंकपछिकै दोस्रो ठूलो नियमनकारी निकायका रुपमा हेरिन्छ। किनभने यसले ३१ खर्ब ८० अर्ब हाराहारी आकारको पुँजीबजारलाई एकछत्र नियमन गर्छ। 

पुँजीबजारमा हाल एउटा स्टक एक्सेन्ज, एउटा एडीएसई, तीनवटा क्रेडिट रेटिङ, २९ वटा मर्चेेन्ट बैंकर्स, १६ वटा फण्ड म्यानेजर र ८४ वटा ब्रोकर कम्पनीलगायत ३ सय १८ वटा बजारसम्बद्ध निकायहरु छन्। 

त्यस्तै २ सय ४६ वटा सूचीकृत कम्पनीहरुको सेयर कारोबार हुँदै आएको छ भने साढे ६२ लाख लगानीकर्ता समेत यसमा जोडिन पुगेका छन्।

पछिल्लो समय नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया समेत अघि बढेको छ। यसमा अनुकूल व्यक्ति अध्यक्ष बनाउन व्यापारिक वृत्तको दौडधूप पनि चलिरहेको छ। यिनै भित्री स्वार्थका बीच माओवादीले आफूले चाहेको व्यक्तिलाई अध्यक्ष बनाउन खोजेको हो।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्