Dashain Banner
Dashain Banner

किर्ते मुद्दा लागेका एमालेका पूर्व वडाध्यक्ष जग्गा ठगीमा समातिए

शनिबार, पुस २७, २०८१

काठमाडौँ महानगरपालिका वडा नम्बर-४ का पूर्व वडाअध्यक्ष मोहनबहादुर विष्टलाई प्रहरीले पक्राउ परेका छन् । जग्गा सम्बन्धी ठगी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिईएको हो। 

प्रहरीका अनुसार पूर्व वडाध्यक्ष ५८ वर्षीय मोहनबहादुर विष्ट शनिवार बिहान शंखपार्कबाट पक्राउ परेका हुन् । उनी नेकपा एमालेका तर्फबाट २०७४ मा वडा अध्यक्ष निर्वाचित भएका थिए ।

विष्टसहित ३ जनाले धर्मस्थलीमा रहेको जग्गा दिन्छौँ भनेर बैना लएको तर, सो जग्गा अरूलाई नै बेचेर ठगेको आरोप छ । प्रहरीका अनुसार तारकेश्वर नगरपालिका वडा नम्बर-८ घर भएका राजेन्द्र कोइरालासँग उनीहरूले ७ करोड ८७ लाख बैना लिएका थिए ।

ठगीमा संलग्न तारकेश्वर-८ घर भएकी ५७ वर्षीया सुलोचना कँडेल, ४३ वर्षीया शान्ति पाठक र ५८ वर्षीय रबित विष्ट फरार छन् । 

पूर्ववडाध्यक्ष विष्टविरुद्ध यसअघि पनि किर्ते गरेर वृद्धभत्ता हिनामिना गरेको अभियोगमा मुद्दा दायर शाको थियो। लिखत किर्तेसम्बन्धी मुद्दा दायर भएका विष्ट फेरि ठगीमा पक्राउ परेका हुन्। ०७७ को असारमा स्थानीय ९६ वर्षीया चिजमाया लिम्बूको तीन महिनाको वृद्धभत्ता हिनामिना भएको आरोपमा विष्टविरुद्ध किर्ते मुद्दा दायर भएको थियो। 
 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्