Dashain Banner
Dashain Banner

पूर्व आईजीपी सर्वेन्द्रले एमाले छोडेपछि गोकुल बास्कोटाले हाने झटारो

आइतबार, पुस २१, २०८१

नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आफू नेकपा (एमाले)मा नरहेको घोषणा गरेका छन् । उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत् आफू अहिले कुनै पनि पार्टीमा नरहेको स्पष्ट पारेका छन् ।

आफूले स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको खनालको भनाइ छ । उनले सामाजिक संजालमा लेखेका छन्-

‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेँ । यसैले म यसै माध्यमबाटस्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन,’ उनले फेसबूकमा लेखेका छन्, ‘म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु । म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैं सक्दो कार्य गरिरहने छु ।’

२०७६ मा ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि पूर्वआईजीपी खनाल एमालेसँग जोडिएका थिए । पछि औपचारिक रुपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरे ।

त्यसको दुई महिनापछि नै खनालले काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए । तर, उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनालसँग पराजित भए ।

पछि खनालले तनहुँमा भएको उपनिर्वाचनमा पनि उम्मेदवारी दिए । यद्यपि, तनहुँ–१ मा पनि रास्वपा नेता स्वर्णिम वाग्लेले बाजे मारे । खनालले तेस्रो मत मात्र प्राप्त गरे । त्यसयता उनी एमालेमा त्यति सक्रिय देखिएका थिएनन् । खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेतृत्व गरेका थिए ।

खनालले एमाले त्यागेको घोषणा गरेपछि एमाले नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले आफ्नै लागि आउनेहरु आए सकेजति लाभ लिए र गए।हाईट र लाईट एमालेकै टोपी,धोती अनि गुन्यु चोली लगाएर बढाए भन्दै सर्वेन्द्रलाई छेड हानेका छन्। उनले सामाजिक संजालमा लेखेका छन्-

मान्छेको वास्तविक परिक्षण सजिलो,स्वार्थपुर्ति  र पदीय महत्वकाँक्षामा होईन,सङकट,त्याग र सङघर्षको समयमा हुन्छ।आफ्नै लागि आउनेहरु आए सकेजति लाभ लिए र गए।हाईट र लाईट एमालेकै टोपी,धोती अनि गुन्यु चोली लगाएर बढाए।खाएको थालमा चुठ्नु राम्रो होइन,झन गएपछि सराप्ने सँस्कार वाहियात नै हो।

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्